गएको दुई वर्ष बर्षासँगै आएको बाढीपहिरोले धेरै नागरिक प्रभावित भए । धनजन क्षति भयो तर राहत रकम नपाएको बाढीपहिरो पीडितको गुनासो छ ।
जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत राहत तथा क्षतिपूर्तिका लागि निवेदन संकलन पनि गरिएको छ । तर लामो समयसम्म राहत तथा क्षतिपूर्ति नपाएको तातोपानी गाउँपालिका – ८ का लालबहादुर शाहीले गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो ‘राहत तथा क्षतिपूर्तिका लागि गएको असार महिनामै जिल्ला प्रशासन कार्यालय जुम्लामा रकम आएको जानकारी भएको हो । असारमा आएको रकम असोज तेस्रो सातासम्म पनि प्राप्त भएको छैन । ’
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण व्यवस्थापन प्राधिकरणबाट बाढीपहिरो पीडितका लागि रकम जिल्ला प्रशासन कार्यालयमा आएको तातोपानी गाउँपालिका – ४ का मणिकृष्ण पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो ‘गाउँपालिकाबाट पाँच हजार र प्राधिकरणबाट आएको ४५ हजार गरी प्रति घरधुरी ५० हजार रकम पाउनु पर्ने हो । तर लामो समयसम्म पनि पाउँन सकेका छैनौँ । ’
जिल्ला प्रशासन कार्यालयमा १५ जनाले निवेदनसहित फाईल पेस गरेका छौँ । बाढीपहिरोले भत्ताका घर ऋणजोखो गरेर पुर्ननिर्माण त गरौँ । तर राहत तथा क्षतिपूर्तिका लागि आएको रकम प्राप्त गर्न सकेका छैनौँ । जिल्ला प्रशासन कार्यालयमा दिन प्रतिदिन धाउने काम मात्रै भएको तातोपानी गाउँपालिका – ६ हियाँखोला गाउँका डिल्ली आचार्यले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार राष्ट्यि विपद् जोखिम न्यूनिकरण व्यवस्थापन प्राधिकरणबाट रकम प्राप्त भएको छ । उहाँले भन्नुभयो २२ जनालाई रकम प्राप्त भएको हो । १५ जनाको निवेदनसहित फाइल आएको छ । दशै अगाडि भुक्तानी उपलब्ध गराउने तयारी भएको छ ।