२३ वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा लम्कीचुहा नगपालिका–९ खमरियाका २३ वर्षीय सुदिप चौधरीलाई ०८० असोज १५ गते सात वर्ष कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले कसुर ठहर गरी सात वर्ष कैद सजाय, २ लाख रुपियाँ जरिवाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्र्ति भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत नवराज पाण्डेले बताउनु भयो ।
पीडित महिलालाई २०७८ कात्तिक ४ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित महिलाले कात्तिक ७ गते ईलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिनुभएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०७८ कात्तिक २६ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकोे थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७८ कात्तिक ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
यसैगरी घोडाघोडी नगरपालिका–११ तिल्केहनीका ३९ वर्षीय विनोद चौधरीले टिकापुर नगरपालिका–४ बागमाराकी ३० वर्षीया प्रतिमा चौधीसँग बहुविवाह गरेको कसूरमा एक वर्ष कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले कसूर ठहर गरी एक वर्ष कैद सजाय र १० हजार रुपियाँ जरिवाना भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत नवराज पाण्डेले बताउनु भयो ।
पति विनोद चौधरीले २०७९ माघ ९ गते बहुविवाह गरेका भन्दै ३० वर्षीया पत्नीले पति विरुद्ध ८० वैशाख ३१ गते ईलाका प्रहरी कार्यालय, सुख्डमा उजुरी दिनुभएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा बहुविवाह अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले दुवै जनालाई ०८० जेठ १२ पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । बहुविवाह घटनाका आरोपित प्रतिमा चौधरी ०८० असार १२ गते २५ हजार रुपियाँ धरौटीमा रिहा हुनुभएको थियो ।