लमजुङ जिल्ला अस्पतालका चिकित्सक सन्दीप अधिकारीमाथि असोज ७ गते कुटपिट गरेको आरोपमा लमजुङको बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषि बस्नेतलाई प्रहरीले असोज ८ गते गिरफ्तार गरेको छ ।
वडाध्यक्षले आमालाई उपचारका लागि अस्पताल लगेकोमा उपचारका क्रममा विवाद हुँदा उहाँले चिकित्सक अधिकारीलाई मोबाइलले प्रहार गरेर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले बताउनुभयाे।
घटना मिलाउन बिहानैदेखि छलफल भएको थियो । तर, मिल्न नसकेपछि डाक्टरहरुले उजुरी दिने तयारी गरेको चपाईंले बताउनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट विशाल तिवारीले बिरामीलाई भर्ना गर्ने तयारीको क्रममा डाक्टरकै कक्षमा आएर बस्नेतले कुटपिट गरेको बताउनुभयो । तिवारीले कानुनी रुपमै अगाडि बढ्ने तयारीमा रहेको बताउनुभयो ।