गाउँपालिकामा प्रसुति सेवा नभएपछि महङ्गो रुपियाँ खर्चेर ‘हेलिकप्टर चार्टर’ गरी उपचार गर्नु परेको चङ्खेली गाउँपालिकाका स्थानीयबासीले गुनासो गरेका छन् ।
प्रसुति ब्यथा लागेकी चङ्खेली गाउँपालिका-१ की २५ वर्षीया सपुरा बुढाको ज्यान जोखिममा परेपछि उनका घरपरिवारले १ लाख रुपियाँ खर्चेर सदरमुकाम सिमकोटबाट हेलिकप्टर चार्टर गरी असार २८ गते जिल्ला जनस्वास्थ्य कार्यालयमा पुर्याएको सपुराका पति नरविर बुढाले बताए ।
चङ्खेली गाउँपालिका जिल्ला सदरमुकामबाट ५७ कोष टाढा रहेको छ । सपुरालाई असार १६ गतेबाट प्रसुति ब्यथा लागे पनि नजिक प्रसुति सेवा नभएकाले समस्या आएको नरविरले बताए ।
गाउँमा प्रसुति सेवाको उपचार गर्ने व्यवस्था नभएको र बिरामीको अवस्था बिग्रँदै आएपछि उपचारका लागि सदरमुकाम सिमकोट लगिएको नरविर बुढाले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाका सिनियर अनमी सरिता बोहोराले बिरामीका आफन्तले असार २८ गते स्वास्थ्य कार्यालयमा पुर्याए पनि प्रसुति सेवा भने त्यति राम्रो नभएको बताइन् । ‘सपुराको पेटमा आठ महिनाको बच्चा रहेको छ । जिल्लामा उपचारको प्रयास गरी रहेको र सुधार नभए जिल्ला बाहिर ‘रिफर’ गर्नुपर्छ । हामी प्रयासमा छौँ ।’-जनस्वास्थ्य कार्यालय प्रमुख स्मृति महतले भनिन् । बिरामीको अवस्था भने यतिखेर खतरा अवस्थामा रहेको प्रमुख महतले बताइन् ।
सदरमुकाम सिमकोटमा गर्भवती भएकी महिलाको चार पटक स्वास्थ्य परीक्षण हुने भएता पनि ५७ कोष टाढा रहेको चङ्खेली गाउँपालिकाको दार्मा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीलगायत औषधि नहुने भएकाले प्रसुति सेवाबाट वञ्चित भएको स्थानीयबासी कमला शाहीले बताइन् ।
नजिकैको स्वास्थ्य संस्थामा कुनै पनि औषधि नहुँदा सुत्केरी ब्यथा लागेपछि काठमाडौँ र सदरमुकाम सिमकोटलगायतका ठाउँबाट व्यक्तिगत रूपमा १ लाख ४० हजार रुपियाँमा हेलिकप्टर चार्टर गरी हुम्लाको चङखेली गाउँपालिकामा टेकअप गराई असार २८ गते सुत्केरी ब्यथा लागेकी पत्नीको ज्यान बचाउन सदरमुकाम सिमकोट पुर्याएको नरविरले बताए ।