INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ४४ वर्षीय दाजु नाता पर्ने पुरुषलाई पर्वत जिल्ला अदालतले १८ वर्ष कैद सजाय र ५ लाख ४० हजार रुपियाँ जरिबाना सजायको फैसला भएको छ ।

जिल्ला अदालतको २०८० भदौ ३१ गतेको फैसलाले आरोपितलाई १४ वर्ष कैद सजायमा हाडनाता कसुर कायम गरी उक्त कसुर अन्तर्गत ४ वर्ष थप गरी १८ वर्ष कैद सजाय र ५ लाख ४० हजार रुपियाँ जरिबानाको सजाय सुनाएको पर्वत जिल्ला अदालतका श्रेष्तेदार राजु ढुंगानाले जानकारी दिनुभयो ।

साथै अदालतले पीडितलाई क्षतिपुर्ति बापत १ लाख रुपियाँ दिलाउन आदेश दिएको छ भने पीडित राहत कोषमा रहने गरी २१ हजार ६ सय रुपियाँ दिलाउन आदेश गरेको छ ।

पीडित बालिकालाई आरोपितले २०७७ फागुन ९ गते बलात्कार गरेको भन्दै पीडित बालिकाको परिवारले २०७८ वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

२०७८ वैशाख २८ गते पुर्पक्षका लागि थुनामा पठाइएका आरोपितलाई पर्वत जिल्ला अदालतको २०७९ मङ्सिर २९ गतेको फैसलाले १४ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

उक्त फैसला उपर चित्त नबुझेपछि आरोपित व्यक्तिले उच्च अदालत पोखरा बागलुङमा रिट दायर गरेकोमा उक्त रिट उपर उच्च अदालत पोखरा बागलुङ इजलासले पुनः पर्वत जिल्ला अदालतलाई फैसला पुनरावलोकनका लागि २०८० जेठ १६ मा पत्र पठाएको थियो ।

पर्वत जिल्ला अदालतले उक्त मुद्दालाई पुनः २०८० असार ३ गते दर्ता गरि भदौ ३१ गते उक्त फैसला सुनाएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण २०७८ वैशाख १४ गते जिल्ला अस्पतालमा गरिएको थियो ।

 

अन्य

भिडियो