नेपाल पत्रकार महासंघ सिरहाका पूर्व सभापती लहान नगरपालिका–७ का ४६ वर्षीय दिनेश्वर प्रसाद गुप्तालाई कुटपिट गरेको आरोपमा नवराजपुर गाउँपालिका–३ का २५ वर्षीय चन्दन कामत, २० वर्षीय कम्लेश यादव विरुद्ध इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारमा पीडित पक्षले भदौ १३ गते उजुरी दिनु भयो ।
नवराजपुर गाउँपालिका–३ स्थित सार्वजनिक पोखरीकाे विवादको सम्बन्धमा भदौ ११ गते भएको झडपको रिपोर्टिङ्ग गर्न गएका गुप्तालाई आरोपितहरुको समूहले कुटपिट गरी मोबाइलसमेत खोसेको पत्रकार गुप्ताले बताउनु भयो । आरोपितहरुको समूहले ट्राक्टरमा आगजनी गर्न लाग्दाको फोटो खिच्न लाग्दा सो समूहले आफूमाथी हमला गरेको गुप्ताले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी टेकु नन्द इवा लिम्बुका अनुसार पत्रकार कुटपिटको आरोपमा उजुरी आएको र केही व्यक्तिहरुलाई सोधपुछको लागि नियन्त्रण्मा लिएको बताउनु भयो । घटनाको छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने एसपी लिम्बुले बताउनु भयो ।
घटनाको विरोधमा नेपाल पत्रकार महासंघ सिरहा लगायत विभिन्न प्रेस संगठनहरुले विज्ञप्ति प्रकाशित गरी आरोपितहरुलाई कारबाही गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन् ।