सङ्खुवासभा कारागारमा कैद भुक्तान गरीरहेका दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनामा पीडित पक्षले कारागार प्रशासनविरूद्ध साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

पीडित पक्षले कारागार प्रशासन र कारागार सुरक्षाकर्मीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि प्रहरीले कारागार प्रशासन मात्र कायम गरी उजुरी दर्ता गरेको छ ।
कारागारबाट भाग्न खोजेको आरोपमा कारागार सुरक्षाकर्मीले निर्घात कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।
मादी नगरपालिका-५ का १९ वर्षिय विनोद तोलाङ्गीलाई कारागारका सुरक्षाकर्मीले निर्घात कुटपिट गरी हत्या गरेको मृतककी दिदी भीमा रम्तेलले बताउनु भयो । उहाँले भन्नुभयो- दुई दिन अघिसम्म फोनमा स्वास्थ्य अवस्था सशकुल छ भनेको भाइले, दुई दिनपछि विनोदको मृत्यु भएको खबर कारागार प्रशासनले अबेर गरीदियो । भाइ बिरामी भएर मरेको होइन, कुटपिट गरी मारिएको हो ।

नुवाकोट ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश वलामीको शङ्कास्पद मृत्यु घटनामा पीडित पक्षले साउन २५ गते शव नबुझ्ने अडान लिएपछि प्रहरीले अर्को छानविन समिति गठन गरेको छ ।
कैदीको शङ्कास्पद मृत्यु भएको घटनाको छानविन गर्न कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको टोली साउन २५ गते सङ्खुवासभा आइपुगेको छ ।
कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश वलामीको साउन २४ गते शङ्कास्पद मृत्यु घटना छानविनका लागि प्रदेश प्रहरी कार्यालयको टोली सदरमुकाम आइपुगेको हो ।
प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोपमा आफन्तले साउन २५ गते शव बुझ्न नमानेपछि घटना छानविनका लागि फरकफरक छानविन समिति गठन गरिएको छ ।
कैदीको शङ्कास्पद मृत्यु घटनामा प्रहरीकै प्रत्यक्ष संलग्नतामा रहेको आरोप पीडित पक्षले लगाएपछि प्रदेश प्रहरी कार्यालयका एसपी ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय टोली जिल्ला आइपुगेको हो ।
प्रहरीको छानविन समितिमा प्रदेश प्रहरी कार्यालयका एसपी कँडेलसहित इन्स्पेक्ट जितेश दाहाल, सई रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी वीरेन्द्र गोदारले कैदीबन्दी तोलाङ्गी र वलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बताउँदै आउनु भएको छ ।
शौचालयको झ्यालको रड काटेर उनीहरू कम्पाउण्डमा निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएर साउन २४ गते राति कारागार प्रशासनको जिम्मा लगाएको डिएसपी गोदारको भनाइ छ ।
कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवैजनालाई कुटपिट गरेको बताउँदै आएका छन् ।
प्रहरीको कुटाइबाट कैदीकन्दीको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।
कैदीको मृत्यु भएपछि कारागारको आन्तरिक सुरक्षालाई मध्यनजर गर्दै नाइकेसहितका बन्दीलाई जिल्ला प्रहरीमा लगिएको कारागारका जेलर राजेन्द्र घिमिरेले बताउनु भयो ।
कैदीबन्दीको हत्या भएको भनेर कारागारभित्र आन्दोलन र भित्रबाट सुरक्षाकर्मीमाथि आक्रमण हुन थालेपछि नौ जनालाई बाहिर निकालेर प्रहरी कार्यालयमा लगिएको जेलर घिमिरेले बताउनु भयो ।
अदालतले बलात्कार मुद्दामा तोलाङ्गीलाई १८ वर्ष र चोरी मुद्दामा बलामीमा ३ वर्ष कैद सजायको फैसला गरेको थियो । दुवैजना १ वर्षदेखि कारागारमा थिए ।
घटना छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
पीडित पक्षले शव बुझ्न अस्वीकार गरेपछि जिल्ला अस्पतालमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।







पीडित परिवारले मृतकको शव पत्रकारसहित हेर्न चाहेकोमा प्रहरीले पत्रकारलाई हेर्न नमिल्ने भनि अवरोध गरेको छ ।

घटना शङ्कास्पद भएको भन्दै जिल्लाका राजनीतिक दलहरुले साउन २५ गते विज्ञप्ति जारी गरी सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।