जिल्ला कारागार सङ्खुवासभामा कैद भुक्तान गरी रहेका दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनालाई लिएर कैदीबन्दीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।

कारागारका कैदीबन्दीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि कारागारबाट नौ जना कैदीबन्दीलाई प्रहरीले विवाद साम्य नहुञ्जेलसम्मका लागि जिल्ला प्रहरी कार्यालय वा कारागार बाहिर लगेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
प्रहरीले कैदीबन्दीलाई कुटपिट गरी हत्या गर्ने अनि दोष कारागारमा रहेका कैदीबन्दीलाई लगाएको आरोपमा कैदीबन्दीले प्रहरीमाथि ढुङ्गामुढा गरेको कारागारका जेलर राजेन्द्र घिमिरले बताउनु भयो ।
घटनाले उग्ररूप लिएपछि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
सङ्खुवासभा, मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको साउन २४ गते शङ्कास्पद मृत्यु भएको घटनालाई लिएर कारागारमा रहेका कैदीबन्दीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेको कारागारका जेलर राजेन्द्र घिमिरेले बताउनु भयो ।
बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरीरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरीरहेका बलामी ०८० साउन २४ गते कारागारमा रहेको शौचालयका रड काटी भाग्ने प्रयास गरेको आरोपमा कारागार सुरक्षाकर्मी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो ।
भाग्ने प्रयास गरेको आरोपमा साउन २४ गते बिहान २ बजे नियन्त्रणमा लिइएका कैदी बिहान ४ बजे अर्धचेत अवस्थामा पुग्नु र बिहान ६ बजे उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु हुनुले घटना शङ्कास्पद भएको राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय, विराटनगरका निर्देशक भवन भट्टले बताउनु भयो ।
कारागारबाट भाग्ने क्रममा कारागार सुरक्षाकर्मी र कारागार प्रशासनले नियन्त्रणमा लिएर कैदीबन्दी बस्ने गृृहमा जिम्मा लगाएको अवस्था साउन २४ गते बिहान ४ बजे दुवै जना अर्धचेत अवस्थामा फेला परेको कारागारका जेलर राजेन्द्र घिमिरेले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
अर्धचेत अवस्थामा भेटिएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा बिहान ६ बजे दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।
अहिले शव जिल्ला अस्पतालमा शवगृहमा राखिएको छ ।
जिल्ला कारागार परिसर क्षेत्र र बाहिरी क्षेत्रमा बाक्लो सङ्ख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई संयुक्त रूपमा परिचालन गरिएको छ ।

