पाँचखपन नगरपालिका–३ का २७ वर्षीय दिलबहादुर तिवारीले आफूमाथि कुटपिट भएको आरोप लगाउनु भएको छ ।
एनएमवी लघुवित्त बैङ्क तुम्लिङटार शाखामा फिल्ड सहायक पदमा कार्यरत तिवारीले आफूलाई किस्ता लिन बोलाएर खाँदबारी नगरपालिका–१ पाठकधाराका ३६ वर्षीय रामकुमार श्रेष्ठले जेठ ९ गते कुटपिट गरेको पीडितको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालले तिवारीमाथि खाँदवारी नगरपालिका–१ टुडिँखेलमा कुटपिट भएको पुष्टि गर्नु भएको छ ।
आरोपित श्रेष्ठले किस्ता लिन बोलाएर हेल्मेटले कुटपिट गरेको पीडितले बताउनु भयो । कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागि घाइते हुनु भएका तिवारीको जिल्ला अस्पतालमा उपचार नसकेपछि थप उपचारका लागि जेठ १० गते न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको छ ।
आरोपित श्रेष्ठ एनएमवी लघुवित्त बैङ्क तुम्लिङटार शाखाका ऋणी हुन् । लघुवित्तले श्रेष्ठलाई किस्ता बापतको रकम तिर्न ताकेता गर्दै आएको थियो ।
आरोपितविरूद्ध पीडित श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा जेठ ९ गते उजुरी दिनु भएको छ ।