गौशाला नगरपालिका–४ स्थित रजखोर गाउँमा प्रर्दनकारी र प्रहरीबिच वैशाख ११ गते झडप हुँदा पाँच जना सुरक्षाकर्मी घाइते भएका छन् ।
गौशाला नगरपालिका–४ मलहनीया पोखरी रजखोर की २६ वर्षीया आरती साहलाई पति ३८ वर्षीय उमेश साह, नन्द २६ वर्षीया आशाकुमारी साहसहित घर परिवारले हत्या गरेको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।
महिला सञ्जाल गौशालाकी अध्यक्ष रमा निरौलाले नेतृत्व गरेको प्रदर्शनमा प्रदर्शकारीहरूले हत्या घटनाका आरोपितको घर अगाडि टायर बालेर बाटो अवरुद्ध गर्नुका साथै दोषीलाई कारबाहीको माग गरेका थिए ।
प्रदर्शनकारीले आरोपितको घरमा तोडफोड र परिवारका अन्य सदस्यहरूलाई कुटपिट गर्ने प्रयास गरेकोले स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले १३ राउण्ड अश्रु ग्याँस र नौ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलीपकुमार गिरीले बतउनुभयो ।
प्रर्दशनको क्रममा नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका दुई जना घाइते भएको डिएसपी गिरीले जानकारी दिनुभयो ।
घाइते हुनेहरूमा इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर मनोजकुमार यादव, प्रहरी हबल्दार राजन सिंह, प्रहरी जवान राजेश रायकुर्मी र सशस्त्र प्रहरी वेस क्याम्पका इन्स्पेक्टर शङ्कर थापा, हबल्दार हरि मगर रहेको डिएसपी गिरीले जानकारी दिनुभयो ।
आरती साहलाई वैशाख ८ गते विष खुवाइ हत्या गरेको आरोपमा प्रहरीले सोही दिन उनका पति उमेश साहलाई गिरफ्तार गरेको छ ।
हत्या घटनाका आरोपित मृतककी नन्द क्षीरेश्वरनाथ नगरपालिका–१ रम्दैया की आशाकुमारी साहलाई गिरफ्तार गरी घटनाको अनुन्धान गर्ने सहमती पछि बिहान ११ बजे देखि सुरु भएको प्रदर्शन साँझ ४ बजे रोकिएको डिएसपी दिलिप गिरीले जानकारी दिनुभयो ।





