११ वर्षीया बालिकालाई बलात्कार गरेको र उनै बालिकाकी दिदी १२ वर्षीया अर्की बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुराँस गाउँपालिका–६ पिलाडीका ३७ वर्षीय टेकबहादुर बिकलाई प्रहरीले चैत २९ गते घरबाटै गिरफ्तार गरेको छ ।
दुई मध्ये ११ वर्षीया बालिकालाई चैत १० गते बलात्कार गरेको र उनै बालिकाकी दिदी १२ वर्षीया अर्की बालिकालाई चैत २५ गते यौन दुर्व्यवहार गरेको भन्ने पीडित पक्षको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो । एक बालिकालाई बलात्कार गरेको र अर्कीलाई यौन दुर्व्यवहार गरेको भन्दै चैत २८ गते पीडित पक्षले उजुरी दिएको हो ।
चैत २९ गते पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण दैलेख जिल्ला अस्पतालमा भयो ।
आरोपित गिरफ्तार भइसकेको, घटनास्थल मुचुल्का लिई सकिएको र घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी लम्सालले बताउनुभयो ।