INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता

घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ की २८ वर्षीया विनु चौधरीले इन्सेकको सहयोगमा फागुन ११ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराउनु भएको छ ।

पीडितले पति २९ वर्षीय विवेक मल्ल, ससुरा ५२ वर्षीय मनु मल्ल, सासु ४८ वर्षीया अन्जु मल्ल र देवर २६ वर्षीय असिम मल्ल विरूद्ध जिल्ला अदालत कपिलवस्तुमा माना चामल र अंश मुद्दा दर्ता गराउनु भएको हो ।

पीडित र आरोपितबीच ०७४ फागुन २९ गते प्रेम विवाह भएको  थियो । एक वर्ष पछि  पति बैदेशिक रोजगारकालागि बहराईन जानुभयो । दुई वर्षसम्म बैदेशिक रोजगारमा बस्दा एक दुई पटक सामान्य खर्च पठाएको पीडितले बताउनु भयो ।

‘‘त्यसपछि पति म र मेरो छोरीसँग सम्पर्क विहिन हुनु भयो । घरमा सासु ससुराले खानलाउन नदिने, बिरामी हुँदा उपचार खर्च नदिने , शारिरीक, मानसिक र आर्थिक हिंसा गर्नुका साथै विवाह दर्ता, नागरिकता र छोरीको जन्म दर्ता समेत बनाएको छैन ।,” पीडितले भन्नु भयो ।

आफू र छोरीलाई बिरामी  हुँदा औषधि खर्च,  खानेखर्च र लत्ताकपडा लगायतका आवश्यक खर्च माइती पक्षले व्यहोरेको पीडितले बताउनु भयो । घर परिवार सासु ससुरासँग खर्च माग्दा सहज रुपमा नदिने दिनु परे गालिगलोज गर्दै दिने गरेको  र अन्तिम पटक ०७९ फागुन २ गते गालिगलोज गर्नुका साथै मानसिक यातना दिएको पीडितले बताउनु भयो ।

माइतीको सहारामा बस्दै आएकी पीडितले अदालतमा माना चामल र अंश सम्बन्धिको मुद्दा दर्ता गर्न आर्थिक तथा कानुनी सहयोगकालागि इन्सेकद्वारा गठित  मानव अधिकार समूह कपिलवस्तुमा फागुन २ गते निवेदन दिएको आधारमा समूहले  फागुन ३ गते इन्सेकलाई सिफारिस गरेर पठाएको थियो भने पीडितले इन्सेकमा फागुन ४ गते निवेदन दिएको थियो ।

पीडितको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले जिल्ला कानुनी सहायता समितिसँग समन्वय र सहयोग पश्चात पीडितले माना चामल र अंश सम्बन्धीको मुद्दा जिल्ला अदालतमा दर्ता गराउनु भयो ।

अन्य

भिडियो