गुराँस गाउँपालिका–८ माथिल्लो गर्चाकी २७ वर्षीया पार्वती बिसीको उनका पति २८ वर्षीय कृष्णबहादुर खड्काले हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गर्ने कृष्णबहादुरलाई गिरफ्तार गरिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।
फागुन १ गते राति घरायसी विवादमा ढोका अड्याउन लगाइने काठको गरालोले दाहिने कञ्चटमा प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी लम्सालले बताउनु भयो ।
दुई जना बीच ०७९ मङ्सिर २६ गते मागी विवाह भएको थियो । मृतक पार्वती बिसीको माइती घर गुराँस गाउँपालिका–६ मा रहेको छ ।
पति बोल्न नसक्ने कान नसुन्ने र पत्नी सुस्त मनस्थितिको भएको कारण के कुराले विवाद सिर्जना भयो अनि हत्यासम्म भयो भन्ने नखुलेको मृतकका दाजु केशवकुमार बिसीले बताउनु भयो ।
दैलेख जिल्ला अस्पतालमा शव पोस्टमार्टम गर्दा मृतकको मुखमा घाँस कोचिएको र दाँत समेत खसेको पाइएको दैलेख अस्पतालका डा. धर्मराज रेग्मीले जानकारी दिनु भयो ।