INSEC Online

📅 २०८३ जेष्ठ २१

तीस वर्षदेखि डाँडाफयाका स्थानीय पानीको समस्या झेल्दै

विगत तीस वर्षदेखि सिमकोट गाउँपालिका–७ डाँडाफयाका स्थानीय नागरिक पानीको समस्या झेल्दै आएका छन् । खानेपानी उपभोक्ता समितिमा बसेका पदाधिकारीको चरम लापरवाहीका कारण डाँडाफयाका स्थानीय नागरिक खाने पानीबाट बञ्चित भएका हुन् ।

लामो समयदेखि विभिन्न निकायमार्फत पर्दै आएका योजनाहरूमा गाउँमा रहेका उपभोक्ता समितिका पदाधिकारीहरूको चरम लापरवाहीकै कारण झण्डै तीस वर्षदेखि सिङ्गो गाउँ नै पानीको अभाव झेल्दै आएको स्थानीय रुद्र सिंहले गुनासो गर्नु भएको छ ।

स्थानीय सिंहका अनुसार तीस वर्षको अवधिमा ७० घरधुरीका स्थानीय नागरिक खानेपानीबाट बञ्चित हुँदै आएका छन् । उहाँले भन्नु भयो “गाउँमा खानेपानीको बजेट नआएको हैन तर उपभोक्ता समितिका व्यक्तिले दिगोपना योजना नगराइदा सो समस्या आएको हो ।” जसका कारण सोही गाउँका स्थानीय खानेपानीकै आशामा तीस वर्ष जीवन विताउन बाध्य भएका छन् ।

त्यस्तै अर्का स्थानीय ल्वारे शाहीले पनि मुहानबाट पानी ल्याउनुको सट्टा गाउँका धारालाई पुनः निर्माणगर्ने भन्दै बजेट पचाउने काम गरेको आरोप लगाउनु भएको छ । हाल गाउँमा दश ओटा धारा निर्माण भएका छन तर ति सबै पानि विनाका धारा भएका छन् । गाउँपालिकालाई खानेपानी व्यवस्थाको अनुरोध गर्दा गाउँपालिकाले सो गाउँलाई खानेपानीको व्यवस्था धेरै पटक गरिसकिएको छ अब गर्न सकिन्न भनेर प्रतिक्रिया दिने गरेको छ । तर गाउँमा खानेपानीको चरम अभाव छ । शाहीले गुनासो गर्नु भएको छ ।

उपभोक्ता समितिलाई बजेट अनुसारको काम भएन भनेर विरोध गर्नेलाई उल्टै धाकधम्की दिने गरेकाले स्थानीय चुपचाप बस्न बाध्य भएको शाहीको भनाई छ । हाल सो ठाउँका स्थानीय सोही वडाको अर्को टोलमा रहेको एउटा धाराबाट करिव एक घण्टा लगाएर पानी खान बाध्य भएका छन् । त्यो धारामा पनि दश लिटर ग्यालेन भर्दा आधा घण्टा कुर्नुपर्ने बाध्यता रहेको स्थानीय लालबहादुर शाहीले गुनासो गर्नु भएको छ ।

यस विषयमा खानेपानी उपभोक्ता समितिका अध्यक्ष दले शाहीलाई बुझ्दा उहाँले खानेपानीको आयोजना सम्पन्न भएको दशौँ वर्ष वितिसक्यो अब केही गर्न नसकिने प्रतिक्रिया दिनु भएको छ । त्यस्तै सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारीले पनि सो ठाउँका स्थानीय नागरिकका लागि केही गर्न नसकिने पछिल्लो वर्ष हेरफेर गर्न सकिने प्रतिक्रिया दिनु भएको छ ।

अन्य

भिडियो