INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्साहन दिएको आरोपमा शिक्षक गिरफ्तार

गौरीगञ्ज गाँउपालिका–३ कृपाल टोलकी १७ वर्षीया सोनीकुमारी राजवंशीलाई आत्महत्या दुरुत्साहन दिएको आरोपमा प्रहरीले माघ २५ गते ४७ वर्षीय शिक्षक पवनकुमार दासलाई गिरफ्तार गरेको छ ।

गौरीगञ्ज गाउँपालिका–३ स्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत बालिकालाई सोही विद्यालयमा कार्यरत शिक्षक दासले माघ २४ गते अफिसमा बोलाएर कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

माघ २४ गते साढे तीन बजे शिक्षक दासले बालिकालाई अफिसमा बोलाएर कुटपिट गरेको र साढे चार बजे विद्यालय छुट्टी भएपछि घर फर्किने क्रममा सोनीकुमारीले म भोलीदेखि स्कूल जान्न,आज मेरो अफिसमा धेरै वेइज्जत भएको भनेर ठूली आमाकी छोरी कञ्चन मण्डलसँग भनेको पीडित बालिकाकी आमा देवकी राजवंशीले बताउनु भयो ।

शिक्षक दासका कारण सोनीकुमारीले माघ २४ गते साँझ झुण्डिएर आत्महत्या गरेपनि आरोपित शिक्षकलाई प्रहरीले गिरफ्तार नगरेपछि माघ २५ गते गौरीगञ्ज गाउँपालिकाका स्थानीयले शिक्षक र प्रहरीविरुद्ध नारीबाजी गरी बजार परिक्रमा गरेका छन् ।

शिक्षक दासलाई गिरफ्तार गर्न माग गर्दै नाराबाजीसहित स्थानीयले बजार परिक्रमा गरेका हुन् ।

आरोपित शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहन दिएको आरोपमा पीडित बालिकाका ठूलो बुवा दारासिंह राजवंशीले माघ २५ गते इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उजुरी दिएपछि आरोपित शिक्षकलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम माघ २६ गते मेची अस्पतालमा गरिने बालिकाका ठूलो बुवा दारासिंह राजवंशीले बताउनु भएको छ ।

अन्य

भिडियो