INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्व अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको एक टोलीले आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचन पूर्वको मानव अधिकार अवस्थाका बारेमा जेठ १९ गते अर्घाखाँची जिल्ला अनुगमन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत अनिश कुमार पौडेल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी डिल्लिराज पोख्रेल, डिएसपी एकनारायण कोइराला, मुख्य निर्वाचन अधिकृत केशवप्रसाद बास्तोला, जिल्ला निर्वाचन कार्यलयका प्रमुख महेश पाण्डेलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख र सरकारी कार्यालयका प्रमुखलाई भेटेर निर्वाचन पूर्व मानव अधिकारको अवस्थाको बारेमा जानकारी लिएको छ ।

अनुगमनको क्रममा आयोगको टोलीले जिल्लाको सुरक्षा अवस्था, सुरक्षा चुनौति, आचारसंहिता कार्यन्वयनको अवस्था, मतदाता शिक्षा, निर्वाचन बाहिष्कार गर्ने राजनीतिक दलका गतिविधिहरूको बारेमा चासो राखेको थियो ।

आयोगका मानव अधिकार अधिकृत अनिश कुमार पौडलले अनुगमनबाट जिल्लाको सुरक्षा अवस्था सामान्य रहेको बताए । पौडेलले अनुगमनका क्रममा सुरक्षा निकायका प्रमुखहरू निर्वाचनसँग सम्बन्धित हिंसा र अपराधका घटनाहरू हुन नदिन सम्वेदनशील रहेको र मतदाता शिक्षाको कार्यक्रम जिल्लामा प्रभावकारी रूपमा भइरहेको जानकारी प्राप्त भएको बताए ।

अनुगमनकै क्रममा जिल्लामा क्रियाशील राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता पालनामा गम्भिर देखिनुपर्नेमा अनुगमनकर्ताहरूले जोड दिएका थिए । हालका दिनसम्म जिल्लामा बालबालिका प्रयोग भएको प्रत्यक्ष नदेखिएको, आचारसंहिताको बारेमा प्रमुख जिल्ला अधिकारीले समय समयमा राजनीतिक दलका प्रमुखसँग छलफल गरिरहेको र जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएपनि दलहरू सो विषयमा गम्भीर नभएको अनुगमनका क्रममा पाइएको मानव अधिकार आयोगका मानव अधिकार अधिकृत कल्पना नेपालले जानकारी दिइन् ।

निर्वाचनको समयमा हुने सम्भावित घटनाहरू हुन नदिन प्रहरी, प्रशासन सम्वेदनशील रहेको हुँदा सामान्य घटना बाहेका जिल्लामा गम्भीर घटनाहरू नभएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी डिल्लिराज पोख्रेलले जानकारी दिए ।

अनुगमन टोलीमा मानव अधिकार आयोगका मानव अधिकार अधिकृतहरू मनिश पौडेल, कल्पना नेपाल, विमला लाखे, इन्सेक जिल्ला प्रतिनिधि सहभागी थिए ।

अन्य

भिडियो