सुखिपुर नगरपालिका–६ की २५ वर्षीया मञ्जुकुमारी महराले आतमहत्या दुरुत्साहन गरेको आरोपमा सासु ४२ वर्षीया सोनितादेवी महरालाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले माघ १२ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षका अनुसार आरोपित र मृतकका देवर १८ वर्षीय ओपिन्दरकुमार महराले यातना तथा कुटपिट गरेको बताउनु भयो । असोज २९ गते मृतकको शव घर नजिकैको पोखरीमा भेटिएकोले निजहरूले हत्या गरेको वा आत्महत्या गर्न दुरुत्साहन गरेकोले कारबाहीको लागि आरोपितहरू बिरुद्ध इलाका प्रहरी कार्यालयमा माघ ११ गते उजुरी दिएको मृतकका बुबा मनोहरले बताए । शवको पोष्टमार्टम प्रादेशिक अस्पताल लहानमा असोज २९ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्सपेक्टर केशवकुमार कटुवालका अनुसार मृतकको शव पोखरीमा भेटेको र पोष्टमार्टम प्रतिवेदनमा हत्या नखुलेको र भिसेराको प्रतिवेदन पनि ढिलो आएको कारण घटना अनुसन्धानमै रहेको थियो । अनुसन्धानबाट आरोपितहरूले यातना दिएको खुले पनि पोष्टमार्टम रिपोटले हत्या नखुलेकोले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी सोनितालाई गिरफ्तार गरेको र ओपिन्द्र रोजगारको लागि भारतमा रहेकोले गिरफ्तार गर्न नसकिएको इन्सपेक्टर कटुवालले बताउनु भयो ।