२७ वर्षीया महिलालाई झारफुकको बहानामा बलात्कार गरेको आरोपमा प्रहरीले बाणगंगा नगरपालिका– १० का २७ वर्षीय पप्पु हरिजनलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले मङ्सिर २० गते झारफुकको बहानामा बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २५ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएका थिए ।
बिरामी भएकी महिलालाई रातीमा झारफुक गर्दा ठिक हुन्छ भन्दै रातीको १० बजेको समयमा बाणगंगा नपा– १० मेचकुरी डाडास्थित कोटिया माईथान भन्ने स्थानमा लगेर बलात्कार गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
घटना पछि फरार रहेका आरोपितलाई घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।
आरोपित हरिजनले यस अघि पनि अपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान समेत भइरहेको डिएसपी घलेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २० गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।