INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचन पूर्व अवस्थाको विषयमा इन्सेकद्वारा अनुगमन

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ तयारी, शान्ति सुरक्षालगायतका विषयमा इन्सेक केन्द्रीय अनुगमन टोलीले जिल्लाका प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलसँग निर्वाचन पूर्व अवस्थाका विषयमा जानकारी लिएको छ ।

photo 20220909 Morang

इन्सेक अध्यक्ष डा.इन्दिरा श्रेष्ठ, कार्यकारी निर्देशक विजयराज गौतम, इन्सेक प्रदेश १, प्रमुख सोमराज थापा, इन्सेक मोरङ प्रतिनिधिलगायतको टोलीले मुख्य निर्वाचन अधिकृतसँग निर्वाचन तयारीलगायतका विषयमा कात्तिक २५ गते जानकारी लिएको हो ।

प्रमुख निर्वाचन अधिकृत ढुङ्गेलले जिल्लामा मतपत्रहरू प्राप्त भएर निर्वाचन अधिकृतका सम्बन्धित क्षेत्रीय कार्यालयहरूमा पुगिसकेको,निर्वाचनका लागि आवश्यक अन्य सामाग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको र निर्वाचनका लागि कर्मचारी नियुक्तिको काम भइरहेको विषयमा जानकारी गराउनु भएको छ । उहाँले निर्वाचनमा खटिने कर्मचारीहरूलाई कात्तिक २५ गतेदेखि तालिम सञ्चालन गरिएको बताउनु भयो । कात्तिक ३० गते भित्र कर्मचारीहरूलाई तालिम दिने काम सम्पन्न हुने र कर्मचारी सम्बन्धित मतदानस्थलमा खटिने इन्सेक अनुगमन टोलीलाई मुख्य निर्वाचन अधिकृत ढुङ्गेलले जानकारी गराउनु भएको छ ।

Photo 2022111 Morang (1)

जिल्लामा निर्वाचन आचारसंहिता खास रूपमा नभएको मुख्य निर्वाचन अधिकृत ढुङ्गेलले अनुगमन टोलीलाई बताउनु भयो । उहाँले निर्वाचनमा मनोनयन दर्ता, निर्वाचन प्रचारप्रसार र आचासंहिता पालनाका विषयमा राजनीतिक दलहरू र उम्मेदवारहरू पनि सचेत रहेकाले गम्भीर प्रकृतिका कुनै घटना नभएको बताउनु भयो ।

अनुगमन टोलीले मतदाता शिक्षाका विषयमा राखेको जिज्ञासामा ढुङ्गेलले मतपत्र चार ओटा रहेका कारण मतदाताहरू अल्मलिने सम्भावना रहेको, कुनै–कुनै मतदानस्थलमा धेरै मतदाता रहेका कारण त्यस्ता मतदान स्थलका मतकेन्द्रहरूमा रातीसम्म मतदान हुनसक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षा तथा बत्तीको प्रवन्ध गरिने बताउनु भयो ।

प्रदेशसभा निर्वाचन क्षेत्रमा कतै धेरै र कतौ थोरै मतदाता रहेका कारण प्रदेशका क्षेत्रहरूमा मतदाताहरूको व्यवस्थापनका लागि तयारी थालिएको विषयमा मुख्य निर्वाचन अधिकृत ढुङ्गेलले अनुगमन टोलीलाई बताउनु भयो ।

जिल्लामा निर्वाचनको सुरक्षाका लागि एकीकृत सुरक्षा प्रणाली लागू गरिएको, पहाडी क्षेत्रहरू र वोर्डर जोडिएका क्षेत्रहरूलाई सुरक्षा सम्वेदनशीलताका आधारमा विभाजन गरी यस्ता क्षेत्रलाई विशेष ध्यान दिइएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले इन्सेक अनुगमन टोलीलाई बताउनु भयो ।

उहाँले निर्वाचनमा नागरिक समाजको महत्वपूर्ण भूमिका हुने भएकाले सहयोग गरीदिन इन्सेकलाई आग्रह गर्नुभयो ।

छलफलका क्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले देशभर निर्वाचन पर्यवेक्षणका लागि ८ सय बढी पर्यवेक्षक खटाएको जानकारी दिनुभयो । उहाँले सातै प्रदेशको अनुगमन गरी इन्सेकको केन्द्रीय टोलीले निर्वाचन पूर्वका अवस्थाका विषयमा जानकारी लिइरहेको बताउनु भयो । उहाँले शहरमा कम र सुरक्षा सम्वेदनशीलता भएका क्षेत्रमा इन्सेकले धेरै पर्यवेक्षक खटाउने बताउनु भयो । उहाँले निर्वाचन निश्पक्ष, भयरहित र सुरक्षित बनाउने उद्देश्यले पर्यवेक्षण गरिरहेको बताउनु भयो ।

मतदाता परिचयपत्र व्यवस्थित बनाउन र मतदाता शिक्षालाई प्रभावकारी बनाउने विषयमा ध्यान दिन इन्सेकले सुझाव मुख्य निर्वाचन अधिृकतलाई सुझाव दिएको छ ।

छलफलका क्रममा इन्सेक अध्यक्ष इन्दिरा श्रेष्ठले नागरिकले निश्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउनु नागरिकको राजनीतिक अधिकार भएकाले सोही अनुसार राज्यले निर्वाचन अघि बढाउनु पर्ने बताउनु भयो ।

छलफलमा इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले इन्सेकले प्रदेश १ मा पनि निर्वाचन पूर्व, मतदानको दिन र मतगणनाका विषयमा पर्यवेक्षण गर्ने बताउनुभयो ।

अनुगमन टोलीले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसँग निर्वाचन सुरक्षालगायतका विषयमा जानकारी लिएको छ ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जिल्लामा सुरक्षा व्यवस्था मिलाइएको र मतदाताले भयरहित वातावरणमा मतदान दिने पाउने बताउनु भएको छ ।

Photo 20221111 Morang

निर्वाचन आचारसंहिता, राजनीतिक दलको उपस्थिती, मतदाताको अधिकारलगायतका विषयमा इन्सेक संस्थापक अध्यक्ष सुशील प्याकुरेल, इन्सेक अध्यक्ष, कार्यकारी निर्देशक,अधिकारकर्मी र पत्रकारबिच सम्वाद कार्यक्रम कात्तिक २५ गते विराटनगरमा सम्पन्न गरिएको छ ।

Photo 2022111 Morang (2)

Photo 2022111 Morang (3)

सम्वाद कार्यक्रममा इन्सेक संस्थापक अध्यक्ष सुशील प्याकुरेलले लोकतन्त्रलाई मजबुत बनाउन र निर्वाचन प्रणालीलाई पारदर्शी बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले नागरिक समाजले निर्वाचन पर्यवेक्षण मात्र नगरेर अब आयोगलाई प्रश्न गर्ने दिन आएको बताउनु भयो ।

सम्वादका क्रममा आवधिक निर्वाचन नियमित प्रक्रिया भएकाले निर्वाचन आयोगले निर्वाचनको मिति आउन तीन महिनाअघिदेखि मात्र काम गर्ने, राज्यसँग चुनावका नाममा अर्बौ रूपियाँ माग्ने र फजुल खर्चसरह व्यवहार गर्ने भएकाले आयोगलाई अब नागरिक समाजले नियमित कामका लागि अर्बौ रुपियाँको आवश्यकता किन भन्ने प्रश्न गर्ने दिन आएको बताउनु भयो ।

सम्वादका क्रममा इन्सेक अध्यक्ष इन्दिरा श्रेष्ठले निर्वाचन लोकतन्त्रको आधार भएकाले नागरिक समाजले निर्वाचन प्रक्रियालाई अनुगमन गरी निर्वाचनको विश्वसनीयता कायम राख्न आवश्यक भएको बताउनु भयो ।

इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धी सन् १९६६ लाई नेपालले पक्ष राष्ट्रका रूपमा अनुमोदन कार्यान्वय गरेको बताउनु भयो ।

उहाँले महासन्धीको धारा २५ मा ‘क’ मा प्रत्यक्ष रूपमा वा स्वतन्त्र रूपमा छानिएका प्रतिनिधिहरूमार्फत सार्वजनिक जीवन सञ्चालनमा भाग लिन, ‘ख’ मा सर्वव्यापी तथा समान मताधिकारबाट र गोप्य मतदानबाट मतदाताहरूको इच्छाको स्वतन्त्र अभिव्यक्तिको प्रत्याभूति गर्ने स्वच्छ आवधिक निर्वाचनहरूमा मतदान गर्ने र निर्वाचन हुने व्यवस्था भएको बताउनु भयो ।

महासन्धीमा व्यवस्था भए बमोजिम मङ्सिर ४ गते हुने निर्वाचनमा जिल्लाका मतदाताले भयरहित र निश्पक्ष ढङ्गले मताधिकारको सुनिश्चिताका लागि जिल्ला निर्वाचन प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र अधिकार रक्षकसँग जिल्लाको चुनावी अवस्थाका विषयमा जानकारी लिएको इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले बताउनु भयो ।

सम्वादमा पत्रकार महासङ्घ मोरङ शाखा अध्यक्ष निर्वाचनका समयमा सञ्चार क्षेत्रले निश्पक्ष भएर काम गर्न नसकेको बताउनु भयो । उहाँले हरेक सञ्चारमाध्यमले पार्टी निकटका समाचार तयार गरेर प्रकाशन तथा प्रसारण गर्दा मतदाता अल्मलमा परेको बताउनु भयो । उहाँले फेसबुक, टिकटलगायतमा निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकाले त्यसको निराकरणका लागि राज्यले पहल गर्न आवश्यक रहेको बताउनु भएको छ ।

अन्य

भिडियो