आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा १ हजार ८ सय ९७ ओटा मतदानस्थल तोकिएको छ । त्यसमध्ये १४ ओटा मतदानस्थल अस्थायी प्रकृतिका छन् ।
अस्थायी मतदानस्थलबाट कारागारका कैदीबन्दी र निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीलगायतले समानुपातिक निर्वाचन प्रणालीका लागि मतदान दिने छन् ।
प्रदेशभर कायम गरिएका ४ सय ३८ ओटा मतदानस्थल अति सम्वेदनशील, ८ सय २४ ओटा मतदानस्थल सम्वेदनशील र ६ सय ३५ ओटा मतदानस्थललाई सामान्य भनि वर्गीकरण गरिएको छ ।
निर्वाचनका लागि ४ हजार ९९ ओटा मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
९ सय ७१ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशील, १ हजार ८ सय ५५ ओटा मतदान केन्द्रलाई सम्वेदनशील र १ हजार २ सय ७३ ओटा मतदान केन्द्रलाई सामान्य भनि वर्गीकरण गरिएको प्रदेश निर्वाचन कार्यालयका अधिकृत लेवनकश्यप अधिकारीले बताउनु भयो ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा ७५ ओटा मतदानस्थल र १ सय २३ ओटा मतदानकेन्द्र तय भएकोमा दुई ओटा अस्थायी मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ । फुङलिङ नगरपालिका–७ तोक्मेडाँडा र कारागारमा अस्थायी मतदान केन्द्र थप गर्न सिफारिस गरिएको हो । निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खनालले तोक्मेडाँडा र कारागारमा अस्थायी मतदान केन्द्र थप गर्न आयोगसमक्ष सिफारिस गरिएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले कारागारका कैदीबन्दीलाई मताधिकारको व्यवस्था मिलाइएको बताउनु भयो । कारागारमा रहेकामध्ये ४६ जनाले अस्थायी मतदानस्थलबाट मतदान दिने कारागारका निमित्त प्रमुख महमद अप्सरले बताउनु भयो । जिल्लामा एक प्रतिनिधिसभासहित दुई ओटा प्रदेशसभा निर्वाचन क्षेत्रमा ८८ हजार २ सय ८५ जना मतदाता छन् । तीमध्ये प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्रमा ४८ हजार ७ सय ६१ जना मतदाता छन् । प्रदेश सभा निर्वाचन ‘ख’ मा ३९ हजार ५ सय २४ मतदाता छन् । २०७४ सालको चुनावको तुलनामा प्रदेश ‘क’ मा ५ हजार २ सय २५ जना मतदाता थपिएका हुन् । प्रदेश ‘ख’ मा ४ हजार ६ सय ६३ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि जिल्लामा दुई ओटा अस्थायी मतदानस्थल कायम गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि जिल्लामा दुई ओटा अस्थायी मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन अधिकारी रामेश्वर निरौलाले बताउनु भयो । जिल्लामा १ हजार ४ सय ३ जना अस्थायी मतदाता रहेका छन् । अस्थायी मतदातामा कर्मचारी, सेना, प्रहरी, कारागारका कैदीबन्दी रहेको निर्वाचन अधिकारी निरौलाले बताउनु भयो । सबैभन्दा धेरै अस्थायी मतदाता रहेको जिल्ला समन्वय समितिको भवनमा मतदानस्थल कायम गरिएको छ । अस्थायी मतदानस्थल कारागारमा ६२ जना कैदीबन्दीले मतदान दिने मतदान अधिकृत शैलेन्द्र सिंले बताउनु भयो । अस्थायी मतदानस्थलमा १० जना कर्मचारी खटाइने भएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई ओटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । जिल्लामा १ लाख १७ हजार ५ सय ५४ जना मतदाता छन् ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा समानुपातिक निर्वाचन प्रणालीका लागि मतदान दिन जिल्लामा एक ओटा मतदानस्थल र एक ओटा मतदानकेन्द्र कायम गरिएको छ । प्रमुख जिल्ला अधिकारी अनिल खनालले महाकुलुङ गाउँपालिकामा एउटा मतदानस्थल र जिल्ला कारागारमा अस्थायी मतदानकेन्द्र कायम गरिएको बताउनु भयो । मतदाता थपिएकाले साविकको भन्दा दुई ओटा मतदानकेन्द्र थपको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खनालले बताउनु भयो । १ हजार ६४ जनाभन्दा बढी मतदाता एकै मतदान केन्द्रमा भएपछि मतदान केन्द्र थपिएको हो । महाकलुङ गाउँपालिका–५ स्थित अमर ज्योती आधारभूत विद्यालयमा मतदान केन्द्र थप गरिएको छ । यसअघि स्थानीय तह निर्वाचनमा जिल्लामा १ सय २१ ओटा मतदानस्थल र १ सय ३५ मतदान केन्द्र थिए । अब १ सय ३६ ओटा मतदान केन्द्र कायम भएका छन् । निर्वाचन आयोगले कारागारमा रहेका कैदीबन्दीलाई पनि मतदानको अधिकार प्रदान गर्ने निर्णय गरेसँगै जिल्ला कारागारमा अस्थायी मतदानस्थल थप गरिएको हो । ९१ जना कैदीबन्दीमध्ये ४८ जना कैदीबन्दीले यस पटकको निर्वाचनमा आफ्नो मतअधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जिल्लामा ८१ हजार ५ सय २ जना मतदाता दिने निर्वाचन कार्यालयले जनाएको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा एक ओटा अस्थायी मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले जिल्ला कारागार कार्यालयमा अस्थायी मतदानस्थल कायम गरिएको बताउनु भयो । अस्थायी मतदातामा सूचीकृत भएका मतदाताहरूले प्रतिनिधिसभाका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान दिन पाउने निर्वाचन अधिकारी न्यौपानेले बताउनु भयो । कैदीबन्दीका लागि जिल्ला कारागारमा र सुरक्षाकर्मी तथा अन्य कर्मचारीका लागि सिद्धिचरण नगरपालिका–११ मा अस्थायी मतदान केन्द्र खाद्य संस्थानमा व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार र आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा दुई ओटा अस्थायी मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अस्थायी मतदातामा सूचीकृत भएका मतदाताहरूले प्रतिनिधिसभाका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान दिन पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला कारागार र जिल्ला समन्वय समितिको भवनमा अस्थायी मतदानस्थल कायम गरिएको छ । अस्थायी मतदानस्थलबाट १ हजार मतदाताले मतदान दिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार र आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा दुई ओटा अस्थायी मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अस्थायी मतदातामा सूचीकृत भएका मतदाताहरूले प्रतिनिधिसभाका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान दिन पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला कारागार र भोजपुर नगरपालिका–७ स्थित टुँडीखेलमा अस्थायी मतदानस्थल कायम गरिएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि जिल्लामा दुई ओटा मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कैदीबन्दीका लागि जिल्ला कारागार र मतदानमा नखटिएका कर्मचारी, सेना, प्रहरीका लागि गोकुण्डेश्वर माध्यमिक विद्यालयमा अस्थायी मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठ बताउनु भयो । जिल्लामा १ हजार ७ सय ४२ जना अस्थायी मतदाता रहेको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अस्थायी मतदातामध्ये निर्वाचनमा खटिएकाले स्थायी मतदानस्थलमा र नखटिएकाले अस्थायी मतदानस्थल गोकुण्डेश्वर माध्यमिक विद्यालयमा मतदान दिन पाउने निर्वाचन अधिकारी श्रेष्ठले बताउनु भयो । अस्थायी मतदातामा जिल्ला कारागारमा रहेका कैदीबन्दी ४२ जना र अन्य कर्मचारी, सेना, प्रहरी रहेको जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले बताउनु भयो । जिल्ला कारागारमा रहेका ४२ जना मतदातामा सबै पुरूष रहेको कारागार प्रशासनले जनाएको छ । अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्रै मतदान दिन पाउने छन् ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा दुई ओटा अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सरकारी कर्मचारी तथा सुरक्षाकर्मीहरूलाई र मोरङ कारागारका कैदीबन्दीको मताधिकारको अधिकार सुनिश्चित गर्न दुई ओटा अस्थायी मतदान केन्द्र कायम गरिएको प्रदेश निर्वाचन कार्यालय मोरङका प्रमुख लेवनकश्यप अधिकारीले बताउनु भयो । ६ ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा एउटा अस्थायी मतदानस्थल मोरङ कारागारमा र विराटनगरस्थित आदर्श पुस्तकालयमा राख्ने तयारी गरिएको अधिकारीले बताउनु भयो । जिल्लामा १ सय ८७ जना कैदीबन्दी र ४ हजार १ सय कर्मचारी तथा सुरक्षाकर्मी अस्थायी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई मताधिकारको व्यवस्था कसरी मिलाइने भन्ने विषयमा छलफल भइरहेको निर्वाचन अधिकारी लेवनकश्यप अधिकारीले बताउनु भयो । निर्वाचनमा खटिने कर्मचारीहरूले सम्बन्धित मतदान केन्द्रमा र अन्यले आदर्श पुस्तकालय केन्द्रमा मतदान दिने छन् । मतदाता नामावलीमा नाम भएका कर्मचारी, सुरक्षाकर्मी, कारागारका कैदीबन्दी र म्यादी प्रहरीले अस्थायी मतदानस्थलमा मतदान गर्न पाउने कानुनी व्यवस्था छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तर्फको समानुपातिक प्रणलीमा मतदान गर्नका लागि क्षेत्रीय कारागार झुम्काका कैदीबन्दी र कर्मचारीका लागि जिल्लामा दुई ओेटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलले क्षेत्रीय कारागार झुम्कामा रहेका १ हजार ५ सय कैदीबन्दीमध्ये ५८ जनाले समानुपातिक निर्वाचन प्रणालीका लागि मतदान दिने भएकोले झुम्का कारागारमा एउटा र कर्मचारी सुरक्षाकर्मीसहितका लागि जिल्ला समन्वय समितिमा गरी दुई ओटा अस्थायी मतदान केन्द्र कायम गरिएको बताउनु भयो । कारागारका ५८ जनामध्ये ३९ जना कैदी र १९ जना बन्दीले कारागारभित्रै अस्थायी मतदान केन्द्रबाट मतदान दिने र जिससमा ३ हजार ६ सय कर्मचारीसहितका मतदाताले मतदान दिने जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलले बताउनु भयो । कारागारमा पुरूष कैदी तथा बन्दीलाई राखिएको छ । जिल्लामा चार ओटा प्रतिनिधिसभा र आठ ओटा प्रदेशसभा सदस्य निर्वाचनका लागि ५ सय ९१ मतदानकेन्द्रमा ५ लाख ४४ हजार ९ सय ४१ जना मतदाताले मतदान दिने छन् । मङ्सिर ४ गते हुने निर्वाचनमा २ लाख ७४ हजार ७ सय ५ जना पुरूष र २ लाख ७० हजार २ सय ३४ जना महिला गरी ५ लाख ४४ हजार ९ सय ४१ जना मतदाताले मतदान दिने निर्वाचन कार्यालयले जनाएको छ ।