INSEC Online

📅 २०८३ जेष्ठ २१

मानसिक रोगका बिरामीलाई उपचारमा समस्या

नेपालको संविधान र कानुनहरूले हरेक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र उपचारमा पहुँचको व्यवस्था गरेको छ ।

शारीरिक स्वास्थ्यमा आधारभूत तहका र तोकिएका रोगका उपचार निःशुल्क देखि सहुलियतपूर्ण उपचार सुविधा प्रदान गरिँदै आएको छ ।

तर, उत्तिकै र अर्को महत्वपूर्ण पाटो मानसिक स्वास्थ्यका हकमा भने रोगीहरू निकै कठिन अवस्थाबाट गुज्रिरहेका छन् ।

व्यक्ति स्वस्थ रहन शारीरिक र मानसिक दुवै पक्षमा उत्तिकै स्वस्थ र सन्तुलित हुनुपर्छ । तर, नेपालमा मानसिक स्वास्थ्यको पक्षलाई भने चरम बेवास्ता गर्ने गरिएको छ । जसका कारण विरामीहरु अनेक प्रताडता भोग्न बाध्य छन् ।

गण्डकी प्रदेशको सन्दर्भमा ११ जिल्ला मध्ये दुई अस्पतालमा मात्रै मानसिक रोगको उपचार हुँदै आएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सूचना अधिकारी नवराज शर्माले बताउनु भयो ।

जस अन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताल बागलुङले भर्ना नै गरेर उपचार गर्ने गरेको छ ।

मानसिक रोगसँग सम्बन्धित बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा बिरामी र बिरामीका आफन्तजनलाई समस्या परेको कुरा सोमबार पर्वत अस्पताल छोराको लागि उपचार गराउन आउनुभएका कुश्मा नगरपालिका १२ का महेन्द्र सुवेदीले गुनासो गर्नु भयो ।

पर्वत अस्पतालका प्रमुख रुक्मिना अधिकारीका अनुसार सामान्य उपचार पश्चात् मानसिक रुपमा समस्या देखिएका बिरामीलाई बागलुङ र पोखराका लागि रिफर गर्ने गरिएको छ ।

पछिल्लो समयमा उपचार नहुने थाहा पाएपछि बिरामीहरू न्युन मात्रामा आउने गरेको उहाँले बताउनु भयो । मनोरोग विशेषज्ञ नहुँदा बिरामी नै भर्ना गरेर उपचार गराउन नसकिएको उहाँले बताउनु भयो ।

धौलागिरी अस्पताल बागलुङका प्रमुख डाक्टर अमित ढुङ्गानाका अनुसार अस्पतालबाट मनोरोग विशेषज्ञ डाक्टर राजेन्द्र घिमिरेबाट उपचार भइरहेको बताउनु भयो ।

अस्पतालमा अहिले पनि केही बिरामीहरू उपचारकै क्रममा रहेको र गम्भिर प्रकृतिका बिरामीहरूलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने र बहिरङ्ग सेवामा पनि मानसिक रोगसँग सम्बन्धित बिरामीको परीक्षण गर्ने गरेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो