भंगहा नगरपालिका–८ पररियामा कात्तिक १० गते दुई समुदाय बिच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी भंगहा नगरपालिका–८ पररियाका २१ वर्षीय मो. इम्तियाज राइन घाइते भएका छन् । उनको दाहिने हातको नाडीमा गोली लागेको छ ।
जनकपुरधाम स्थित दैविक अस्पतालमा उपचार पछि थप उपचारको लागि उनलाई धरान रेफर गरिएको छ । उपचारको क्रममा उनको हात नै काटेर हटाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी भंगहा नगरपालिका–८ बस्ने पररिया बस्ने ३५ वर्षीय जिवछ नदाफको प्रहरीले चलाएको गोली लागि घाइते भएका छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ ।
दुई समुदाय बिच भएको ढुङ्गा मुढाबाट स्थानीय ४७ वर्षीय मो. मन्नु राइनको टाउकोमा चोट लागेको छ भने लोहारपट्टी नगरपालिका–४ बस्ने ४२ वर्षीय मोजिम राइन जनकपुरबाट मोटरसाइकलमा घर फर्किने क्रममा रहेको बेला सो घटनामा परि घाइते भएका छन् । घाइते उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।
साथै सो घटनालाई नियन्त्रणमा लिन पुगेका डीएसपी सहित झण्डै तीन दर्जन घाइते भएका छन् । स्थितिलाई नियन्त्रण गर्न भंगहा नगरपालिकामा कार्तिक १० गते साँझ ४ बजेदेखि कफ्र्यु आदेश जारी गरिएको छ ।
हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको बेला दुई समुदाय बिच झडप भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णप्रसाद पंगेनीले जनाए अनुसार शोभा यात्रा पररियाको मुख्य चोक स्थित गोलम्बरमा पुगेपछि झडप भएको थियो ।
नजिकैको दुई तले घरको छतबाट महिला समेतले ढुङ्गामुढा गर्न थालेपछि डीएसपी चन्देश्वर यादव सहित नौ जना सुरक्षाकर्मी र दुई दर्जन बढी सर्वसधारण घाइते भएको एसपी पंगेनीले जानकारी दिनु भयो ।
स्थितिलाइ नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको, अश्रुग्याँस र हवाइफायर गर्नु परेको घाइते डीएसपी चन्देश्वर यादवले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका डीएसपी यादवका अनुसार हिन्दु सेना सम्राटका कार्यकर्ताहरुले पूर्व निर्धारित कार्यक्रम अनुसार शोभा यात्रा निकालेका थिए ।
‘बिहान करिब १० बजेको समयमा हिन्दु सेना सम्राटले शोभा यात्रा निकालेकाले दुबै समूह बिच झडप भएको थियो’ उहाँले भन्नु भयो,–“दुबैतर्फबाट भएको ढुङ्गामुढाको क्रममा प्रहरीले ३१ राउण्ड हवाई फायर गरेका थिए । केही राउण्ड टियर ग्याँस फायर गरिएको थियो ।”
जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट पूर्व अनुमति लिएर हिन्दू सम्राटले शोभा यात्रा निकालेको बताइएको छ । शोभा यात्राको क्रममा झडप हुन नदिन डीएसपी यादवको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो ।
शोभा यात्रा गाउँको चोकमा रहेको गोलम्बरमा पुगेर झण्डा गाड्न खोज्दा छेउका घरहरुको छानाबाट अन्धाधुन्ध ढुङ्गामुढा गरिएको स्थानीय प्रत्यक्षदर्शीहरुले जनाए । छतमा पहिलेदेखि नै ढुङ्गा र इँटाका टुक्राहरु थुपारिएको उनीहरुको कथन छ ।
छतबाट प्रहार गरिएको ढुङ्गाले डीएसपीको हात र टाउकोमा चोट लागेको छ । उनको हात सुनिएको छ । लामो समय दुईतर्फी नै ढुङ्गामुढा भएको थियो ।
पररियामा शान्ति सुरक्षाको स्थितिलाई नखल्बलाउन हिन्दू र मुस्लिम पक्षसित छुट्टछुट्टै छलफल गरिएको बताउँदै एसपी पंगेनीले भन्नु भयो,–“दुवै पक्षले बिबाद सृजना हुन नदिने प्रतिबद्धता जनाएका थिए ।”
स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । शान्ति सुरक्षा कायम गर्न दिउँसो ४ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासनको सुचनामा उल्लेख छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले स्थितिलाई समान्य बनाउन दुवै समुदायका अगुवा र स्थानीय जनप्रतिनिधिहरुसित संवाद भइरहेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकार पहाडीद्वारा जारी कफ्र्यु आदेशमा सम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी दुई पक्षबीच झडप भएको जनाइएको छ ।
कफ्र्यु जारी भएका स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, ¥याली र सभा नगर्न प्रशासनको आदेशमा भनिएको छ । कर्फ्यु उल्लङ्घन हुने कार्य गरेमा कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।
हिन्दूहरुको छठ पर्वको पूर्वसन्ध्यमा र चुनावको प्रचारप्रसार तिव्र हुन थालेको बेला भएको दुई समुदाय बिचको झडपले तनाव बढाएको छ ।
प्रतिनिधि र प्रदेश सभा चुनावको प्रचारप्रसारपनि तिव्र बन्न थालेको छ । उम्मेदवारहरुले घरदैलो गरिरहेको अवस्थामा कफ्र्यु आदेश जारी भएको छ ।
घटनास्थल पररिया महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । त्यहाँबाट सत्तारुढ गठबन्धनबाट लोसपाका बरिष्ठ नेता शरतसिंह भण्डारी, जसपा गठबन्धनबाट एमालेका डा. रामपरीक्षण यादव र गठबन्धन बाहिरबाट तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का वरिष्ठ नेता डा.बिजय कुमार सिंह प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् ।

सवारीसाधनमा आगजनी
दङ्गाले उग्र रुप लिँदै गएपछि केही सवारीसाधनमा आगजनी भएको छ भने मस्जिद र केही स्थानीयका घरमा तोडफोड भएको छ ।
दङ्गाकारीले घरमा राखेको प्रदेश २—०२—००४ प ९८०५ नम्बरको मोटरसाइकल, थप नम्बर खुल्न नसकेको अर्को एउटा मोटरसाइकल र नम्बर खुल्न नसकेको एक टेम्पोमा आगजनी गरेका छन् । यस्तै एक थान डिजे बोकेको बोलेरो पिकअपमा समेत तोडफोड भएको छ ।

झगडाको सुरुवात यसरी भयो
मोहम्मद डेको एक दिन अगाडि अर्थात् असोज २३ गते स्थानीय किशोरी यादवले एक्का लगाउने तयारी गरेका थिए । एक्का लगाउन छिमेकीलाई सबै खबर गरेर तयारी अन्तिम चरणमा पुगेको बेला मुस्लिम धर्मावलम्बीका मसरिम राइन र रफिक आलमले एक्का लगाउँदा आफूहरूलाई डिस्टर्व हुने भन्दै रोक्न आग्रह गरेका थिए ।
किशोरी यादवका छोरा विदेशबाट छुट्टीमा आएका थिए । छुट्टीमा आएकोवेला एक्का लगाउँदा राम्रो हुने धार्मिक विश्वास अनुसार एक्का लगाएर नै छोरालाई पठाउने किशोरीको योजना थियो ।
यसबीचमा मसरिम र रफिक पटक–पटक एक्का नलगाउनु भन्दै रोक्न आए तर किशोरीले आफ्नो धार्मिक स्वतन्त्रतामा कसैले हस्तक्षेप गर्न नसक्ने भन्दै एक्का लगाएर नै छाडे ।
यहीँबाट स्थानीय मुस्लिम समुदाय र हिन्दु समुदायबीच तितोपना बढ्दै गएको थियो । भित्र–भित्रै उनीहरू आगो जसरी सल्किएका थिए । काहीँ न काहीँ उनीहरूबीच झगडा हुन सक्ने भन्दै स्थानीयमा त्रास बढ्दै गएको थियो ।
यो विषयमा नगर प्रमुख सञ्जीव साहले पनि निगरानी बढाउँदै लगे । यसैबीच आज हिन्दु सम्राट सेनाले शोभा यात्रा निकाल्ने पूर्व निर्धारित कार्यक्रम थियो ।
यही यात्रा नै झगडाको कारक बन्न सक्ने भन्दै नगर प्रमुख साह निक्कै सचेत थिए । हिन्दु सम्राट सेनाका केही व्यक्तिलाई बोलाएर यसअघि नै उक्त शोभा यात्रा ननिकाल्न अनुरोध पनि गरे तर उनीहरूले त्यसलाई अस्वीकार गरे ।
नगर प्रमुख साहले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैलाई घटनाको विषयमा जानकारी गराए । सोभायात्रा निक्लनु अगाडि नै सशस्त्र प्रहरी र नेपाल प्रहरी यात्रा गर्ने वरपर तैनाथ गरिएको थियो ।
पररिया चोक जस्तो सार्वजनिक ठाउँमा राखेको मुस्लिम झण्डालाई लिएर यसअघि पनि हिन्दु र मुस्लिमबीच विवाद भएको थियो ।
सार्वजनिक ठाउँमा गाडिएको उक्त झन्डालाई लिएर नगर प्रमुख साहले मुस्लिम समुदायका अगुवाहरूलाई बोलाएर कयौँ पटक छलफल पनि चलाए । सार्वजनिक ठाउँमा बरु नेपालको झण्डा राखौँ भन्ने उनको सुझाव थियो ।
नगर प्रमुख साहले जातीय दङ्गा भड्कन सक्ने भन्दै उक्त झण्डा हटाउन आदेश पनि दिन सकेनन् । तर शोभा यात्रामा सहभागीको तगारो सोही मुस्लिम झण्डा बन्यो ।
हिन्दु सम्राट सेना हिन्दुहरूलाई मुस्लिम समुदायले गरेको हस्तक्षेपलाई लिएर प्रतिकार गर्ने तयारी गरिरहेका थिए । उनीहरूले यही मुस्लिम झन्डालाई नै कारक बनाए र त्यहाँ उनीहरूले आफूहरूको झण्डा पनि गाड्ने तयारी गरे । त्यसपछि झगडाले उग्ररुप लियो ।
