जिल्ला अदालत रुकुम पश्चिममा दर्ता भएका मुद्दामा सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्दा रहेको पाइएको छ । पछिल्लो समय जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गर्नेको सङ्ख्यामा बृद्धि भएको जिल्ला अदालतका निमित्त श्रेष्तेदार बिष्णुप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
निमित्त श्रेष्तेदार पौडेलका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला अदालतमा दर्ता भएका ६ सय ६० ओटा मुद्दा मध्य २ सय ८७ मुद्दा सम्बन्ध बिच्छेदका मात्रै रहेको र यी मध्य धेरै मुद्दा उमेर नपुगी विवाह गरेकाहरूको रहेका छन् ।
अदालतमा दर्ता भएका कुल मुद्दा मध्य ४ सय ६६ देवानी, १ सय ८८ मुद्दा फौजदारी र ६ वटा मुद्दा पुनरावेदनतर्फका रहेको उहाँले जानकारी दिनुभयो । देवानी तर्फका ४ सय ६६ मुद्दा मध्य २ सय ८७ मुद्दा सम्बन्ध बिच्छेद रहेको उहाँको भनाई छ । अघिल्लो आर्थिक वर्ष रुकुम पश्चिममा सम्बन्ध विच्छेदका मुद्दा २ सय ६० रहेको थियो ।
यो तथ्याङ्क अनुसार रुकुममा अघिल्ला वर्ष भन्दा यो आर्थिक वर्षमा सम्बन्ध बिच्छेदका घट्ना बढ्दै गएको र यसले बालबालिकामा प्रत्यक्ष असर परेको, बालअधिकारको हनन् भएको निमित्त श्रेष्तेदार पौडेलको भनाई छ ।
अदालतमा आएका मुद्दामध्य ४३.८८ प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदका मुद्दा रहेका छन् । सम्बन्धबिच्छेदका घटना बढ्नुमा उमेर नपुगेर विवाह गर्नु प्रमुख कारण रहेको उहाँको भनाई छ । अदालतमा सम्बन्धबिच्छेदका मुद्दा दर्ता गर्न आउने प्राय १८ देखि २० वर्ष उमेर समुहका रहेको उहाँले जानकारी दिनुभयो । बालविवाहका कारण महिला हिंसा घरेलु हिंसाका घटना बढ्नुका साथै बालअधिकार हनन्का घटनामा पनि वृद्धि भएको उहाँको भनाई छ ।
सानो उमेरमा विवाह गर्ने, छिटै बच्चा जन्माउने र पती पत्नी बीच बिस्तारै मनमुटाव हुँदै जाँदा बालबालिकाको प्रवाह नगरी सम्बन्ध बिच्छेद गर्दा धेरै बालबालिका वेवारिसे भएको, बस्न समस्या भएको र पठनपाठनबाट बन्चित भएको सानीभेरी गाउँपालिकाका बालबालिका अधिकृत मानबहादुर वलीले बताउनुभयो ।
जिल्लामा सम्बन्ध बिच्छेदका घटनामा बृद्धि हुनुको मुख्य कारण बालविवाह नै भएकाले जनचेतनामुलक कार्यक्रम प्रभावकारी नभएको र यसले बालविवाह न्यूनीकरणमा सहयोग नपुगेको हुँदा सरकारले नै बालविवाह न्यूनीकरणका लागि अन्य प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने बालबालिका अधिकृत वलीको भनाई छ ।