घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –११ देउवापार घर भई सोही नपा–३ धनकौलीस्थित माइती घरमा बस्दै आएकी २७ वर्षीया शसीकला चौतारलाई इन्सेकले भदौ २८ गते आर्थिक सहयोग गरेको छ ।
पीडित र आरोपितबिच ०७५ माघ २ गते विवाह भएको थियो । विवाह भएको केही समय पछि आरोपितहरूले खानलाउन नदिएको , बिरामी हुँदा र गर्भवती अवस्थामासमेत शारिरीक, मानसिक र आर्थिक हिंसा गर्नुका साथै बिवाह दर्ता र नागरिकता नबनाएको पीडितले बताउनु भयो ।
आफू बिरामी र गर्भवतीदेखि सुत्केरी हुँदा अस्पतालमा औषधि उपचारमा लागेको खर्चसमेत नदिए पछि माइती पक्षले व्यहोरेको पीडितले बताउनु भयो ।
घर परिवारसँग पटक पटक खर्च माग्दा नदिएको र अन्तिम पटक ०७९ भदौ ४ गते अंश माग्दा घरमा बस्न नदिएपछि माइती घरमा बस्दै आएको पीडितको भनाई रहेको छ ।
माइतीको सहारामा बस्दै आएकी पीडितले अदालतमा माना चामल र अंश सम्बन्धिको मुद्दा दर्ता गर्न आर्थिक तथा कानुनी सहयोगका लागि इन्सेक कपिलवस्तुमा भदौ १५ गते निवेदन दिनु भएको थियो ।
पीडितको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले जिल्ला कानुनी सहायता समितिसँग समन्वय पश्चात शसीकलाले इन्सेकको सहयोगमा भदौ २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराउनु भएको थियो ।
पीडितले पति ३५ वर्षीय रामदास थारू, ससुरा ६५ वर्षीय लक्षु थारू, सासु ६० वर्षीया सुनारी थारु विरूद्ध जिल्ला अदालत कपिलवस्तुमा माना चामल र अंश मुद्दा दर्ता गराउनु भएको हो ।
पीडितलाई न्यायिक निकायमा जान सहयोग पुर्याउने उद्देश्यले इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले पीडितलाई १० हजार रूपियाँ प्रदान गर्नु भएको हो ।