ललितपुर महानगरपालिका–२९ हरिसिद्धकी ४७ वर्षीया रूपा क्षेत्री लामाको हत्या गरेको आरोपमा पति दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ घर भई सोही ठाउँ बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई प्रहरीले ०७९ भदौ २७ गते गिरफ्तार गरेको छ ।
रौतहट जिल्ला हजरिया माइती भएकी रूपालाई ०७२ सालमा घ्याल्मोले तेस्रो पत्नीका रूपमा विवाह गरी सँगै बस्तै आएकोमा ०७९ भदौ १६ गतेदेखि हराएको भन्दै पीडितका माइतीपक्षले भदौ २५ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएका थिए ।
गोदावरी नगरपालिका–३ फुलचोकीस्थित जङ्गलमा भदौ २५ गते सडिगलेको अवस्थामा शव फेला परेपछि घटनाको अनुसन्धानको क्रममा शवको पहिचान गरी अनुसन्धान गर्ने क्रममा पतिलाई गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी सुधीरराज शाहीले बताउनु भयो ।
घरायसी विवाद हुँदा भदौ १६ गते घरबाट हिँडेका दुवै जना जङ्गलमा पुगेपछि आवेशमा आई डोरीले घाँटीमा बाँधेर हत्या गरेको अनुसन्धानको क्रममा घ्याल्मोले बताएको एसपी शाहीले जानकारी दिनु भयो ।
आरोपतिलाई ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
शवको पोष्टमार्टम पाटन अस्पतालमा भदौ २६ गते गरियो ।