सरकारले जातीय छुवाछुत अन्त्यको घोषण गरी जातीय छुवाछुत तथा कसुर सजाय ऐन समेत जारी गरेको भएपनि समाजमा जातीय छुवाछुत र विभेद कायमै रहेका कारण दलित समुदायले उत्पादन गरेको दुध समेत बजारमा बिक्री नहुने गरेको दलित समुदायका कृषकहरुले गुनासो गर्नु भएको छ ।
कृषी पेशालाई अगालेर भैसी पालन गर्दै आएका बुढिगंगा नगरपालिका–८ देवलशैनका कुमाल समुदायका कृषकहरुले सो गुनासो गर्नु भएको हो ।
कुमाल जाति दलित समुदाय भएकाले उत्पान गरेको दुध बजारमा कसैले पनि नकिनि दिँदा आफूहरुलाई आर्थिक संकट हुने गरेको बुढीगंगा नगरपालिका–८ की मथु कुमालले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘गाउँबाट आधा घण्टाको दूरीमा बेतालमाण्डौ, रिठाबजार, काप्रीतोला बजार रहेका छन् । ती बजारहरुमा गैरदलितहरुले उत्पादन गरेको दुध मात्रै बिक्री हुने गरेको छ। द्यतिल समुदायले उत्पान गरेको दुध छुइएको भन्दै कसैले किन्न मान्दैनन् ।’
कुमाल जातिलाई नेपाल सरकारले जनजातिको सूचीमा राखेको भएपनि बाजुरा जिल्लामा दलित जातिका रुपमा चिनिने गरेका छन् ।
देवलशैन गाँउमा बसोबास गर्दै आएका ७० घर कुमाल परिवारले प्रत्येक घरमा एकदेखि दुई ओटा भैसी पाल्ने गरेका भएपनि बजारमा दुध कोही नकिन्ने भएपछि दुध बिक्री गरेर घरपरिवारको खर्च चलाउन नसकिएको स्थानीय रनजिते कुमालले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘सकेजति आफूहरुले नै खाने गरेका छौँ । खान नसकेको दुध,दहि,मही बिग्रीएर खेर जाने गरेको छ । भैसी पालन गरेर पनि के गर्ने ?।’
साबिकको बाह्रबिस गाबिसको क्षेत्रमा मात्र बेतालमाण्डौ, रिठाबजार, डाब बजार भएपनि दलित समुदायले उत्पादन गरेकोको दुध रुढीबादी परम्परा र सोचका कारण कसैले नकिन्ने गरेको बुढिगंगा नगरपालिका–९ का स्थानीय रमेश नेपालीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘रुढीबादी परम्परा गाउँघरमा हट्न सकेको छैन् । दलितले छोएको कुनै पनि चिज गैरदलितले खानु हुदैन भन्ने मान्यताका कारण हामीले उत्पादन गरेको दुध बजारमा बिक्री हुदैन् । गाई, भैसी पालेर पनि केही फाइदा हुदैन् । ऋण नकालेर भैसी पालन गरियो । दुध,दहि, घिउ नबिक्ने भएपछि व्याज तिर्न पनि समस्या भएको छ ।’
दलित समुदायले पालेका गाई, भैसीको दुध बजारमा कसैले पनि नकिनी दिएपछि भैसी पालन गर्न छोडेको स्थानीय राम बिकले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘ ५० हजारदेखि १ लाख रुपियाँसम्म मुल्य तिरेर भैसी किन्नु पर्छ । दुध दहि कसैले नकिन्ने भएपछि भैसी पाल्न छोडे । गाउँमै भैसी पालन गरेर जिबिकोपार्जन गरौ भनेर सहकारीबाट १ लाख रुपियाँ ऋण काढेर भैसी ल्याए । दलित समुदायले ल्याएको दुध भनेर बिक्री भएन् । अहिले सहकारीको ऋण चुक्ता गर्न भारत जानु पर्ने भएको छ ।’
परम्परादेखि नै दलित समुदायले छोएको दहि, दुध कथित माथिल्लो जातीले खानु हुदैन भन्ने मान्यताका कारण बजारमा दलित समुदायले उत्पादन गरेको दुध,दहि, घिउ कसैले नकिन्ने गरेको बेतालमाडौँ बजारमा होटल व्यवसाय सञ्चालन गर्दै आएका शेरबहादुर थापाले बताउनु भयो ।
दलित समुदायले ल्याएको दुध, दहि किनाँै भने पनि दतिलले छुएको दुध किनेको भन्दै होटलमा ग्राहक नआउने डर भएकाले आफूले समेत दलित समुदायले ल्याएको दुध नलिने गरेको होटेल व्यवसायी थापाले बताउनु भयो ।
बेतालमाडौँ बजारमा मात्रै नभइ जिल्लाका मुख्य बजारहरु बार्जुगाड, तिपाडा, कोल्टि, सदरमुकाम मार्तडीमा समेत दलित समुदायले उत्पादन गरेको दुध, दहि र घिउ कसैले पनि नकिन्ने गरेको दलित नेटकर्व, बाजुराका सन्तोष विकले बताउनु भयो ।
बुढीगंगा नगरपालिका–८ का वडाध्यक्ष रमेश रावलले छुवाछुतको कुसस्कार पूर्ण रुपमा समाप्त हुन नसकेका कारण यसको अन्त्यका लागि वडास्तर तथा ग्रामीण गाउँबस्तीमा जनचेतना तथा सहभोजका कार्यक्रम सञ्चालन गर्नका लागि पहल भइरहको बताउनु भयो ।
आफूहरुले उत्पान गरेको दुध दलित भएकै कारण बिक्री नभएको भनेर दतिल समुदायका व्यक्तिहरु वडा कार्यालयमा अहिलेसम्म नआउनु भएको भएपनि गाउँमा सामान्यतय यस प्रकारका गुनासाहरु सुनिने गरेकोले समस्या समाधानका लागि पहल गरिने वडाध्यक्ष रावलले बताउनु भयो ।