INSEC Online

📅 २०८३ जेष्ठ २१

माइजनलाई ५ लाख रुपियाँ बुझाउन नसक्दा शव उठाउन नपाएको पीडित पक्षको दुःखेसो

बर्दिवास नगरपालिका–१४ मा छोरा नभएका बर्दिवास नगरपालिका–१४ का ७० वर्षीय फकिरा साह सोनारको मृत्यु भएपछि दाहसंस्कार र काजक्रियाका लागि बसेको जातीय भेलामा जातीय अगुवा (माइजन)ले ५ लाख रुपियाँ नदिएको भन्दै शव नउठ्ने बताए पछि मृत्यु भएको एक दिन एक रात लास उठ्न नसकेको पीडित पक्षले दुःखेसो पोखेका छन् ।

मृत्यु भएको एक दिन पछि छोरीहरुले बुबाको शव दाहसंस्कार गरेका हुन् । दाहसंस्कार भएपछि पनि माइजनले अब काजकिरिया भोज गर्नको लागि ५ लाख रुपियाँ उपलब्ध गराउनु पर्ने माग राखेर पीडितलाई थप पीडा दिने गरेको पीडित पक्षको आरोप छ ।

पीडित परिवारजनले उक्त रकम खर्च गर्न नसक्ने र आफै काजकिरिया तथा भोज गर्ने बताएपनि जातबाट निकाला गरिदिने, काजकिरियाको पुण्यतिथिमा सो जातका कसैलाई पनि सहभागी हुन नदिने भनेर धम्की दिएको पीडित परिवारले दुःखेसो गरेको हो ।

बर्दिबास स्थित सोनार जातिका माइजन इनरजित साह सोनार मृतकका आफ्नै ज्वाइँ हुनुहुन्छ । उहाँले नै उक्त रकम माग गरेर शवको ‘सौदाबाजी’ गरेको पीडित पक्षको आरोप छ ।

लामो समयदेखि पक्षघातको बिरामी बर्दिवास नगरपालिका–१४ का ७० वर्षीय फकिरा साह सोनारको साउन २४ गते ४ बजे घरमा नै मृत्यु भएको थियो । दुई पत्नी रहेका मृतकका आठ जना छोरी छन् ।

मृतक फकिरा जेठी पत्नीको मृत्यु भएपछि कान्छी फूलोदेवीसँग बस्दै आउनु भएको थियो । जेठीपट्टीका सबै छोरीको बिहे भइसकेको छ भने कान्छी फूलोदेवीपट्टिकी माहिली रूपा र कान्छी सविता नाबालिग छन् ।

छोरा नभएकै कारण दाहसंस्कारका लागि विवाद सुरु भएको पीडित पक्षले आरोप लगाएको छ ।

दागबत्ती पुरुषको हातबाटै दिइनुपर्ने पराम्परा अनुसार जातीय सभाको बैठक बस्यो । जातीय अगुवा एवम् मृतकका ज्वाइँ इनरजितकै अगुवाइमा बसेको सभाले मृतककी जेठी पत्नी (मनतोडिया) तर्फकी जेठी छोरीका छोरा अर्थात् मृतकका नाति शम्भु साहले दागबत्ती दिने र काजकिरिया शम्भुले गर्ने तय गरिएकोमा रकम दिनु पर्ने शर्तले समस्या आएको पीडित पक्षले आरोप लगाएको छ ।

मृतककी कान्छी पत्नीले दागबत्ती बापत ५ लाख रुपियाँ तिनुपर्ने जातीय सभाले निर्णय गर्दै ‘सो रकम नदिए दाहसंस्कार पनि हुन नदिने र जातबाट पनि निकाल्ने धम्की दिए ।’–मृतककी कान्छी पत्नी फूलोदेवीले रुँदै भन्नु भयो–‘त्यत्रो पैसा मसँग छैन, कहाँबाट ल्याएर दिनु ? खोजखाज गरेर ऋण सापट गरेर २ लाख रुपियाँ दिन्छु त भनेँ तर मान्दै मानेनन् ।’

त्यो दिन मागेजति रकम दिन नसकेपछि मृतकको दाहसंस्कार हुन सकेन । दोस्रो दिन मात्र अविवाहित छोरीले दागबत्ती दिएर आफैँ किरिया बसेको पीडित पक्षले जनायो ।

प्रत्यक्षदर्शी गीता श्रेष्ठ र सीता नेपाल भन्नु हुन्छ–‘त्यो रात पैसामा कुरा नमिलेपछि मलामी पनि जाँदैनौँ, हेरौँ कसरी गर्दा रहेछौ दाहसंस्कार भनेर ज्वाइँ समेत सबैले छाडेर हिँडे ।’

भोलिपल्ट पनि इनरजितले ५ लाख रुपियाँ नदिए दाहसंस्कार हुन नदिने अडान नछाडेको श्रैष्ठ र नेपालको भनाइ छ ।

पीडित फूलोदेवीका अनुसार त्यसपछि १५ वर्षीया छोरी रूपाले आँट गरेर आफैँ दागबत्ती दिने भनेपछि दाहसंस्कार भएको हो ।

फुलोदेवीले पीडा पोख्दै भन्नु भयो–‘न रुनूस् मम्मी कसैले नगरे मेरो बुबालाई म आफैँ दागबती दिन्छु भनी छोरीले हिम्मत गरिन् । त्यसपछि सबै तयारी गर्‍यौँ र भोलिपल्ट छोरीहरूले नै शव बोकेर भब्सीखोलामा लगेर दाहसंस्कार गरियो ।’

वर्दिबासस्थित देउराली माविको कक्षा नौमा अध्ययनरत रूपा अहिले बुबाको किरिया बस्नु भएको छ । रुपाले छोराले गर्न सक्ने काम छोरीले पनि गर्न सक्छन् भनेर आफूले छोरीप्रतिको सामाजिक अन्धविश्वास तोड्न पाएककोमा गौरव मिलेको बताउनु भयो ।

उहाँले भन्नु भयो–‘बुबाले पनि भन्नुहुन्थ्यो कि मेरो छोरा छैनन्, तिमीहरूले नै मेरो दाहसंस्कार गर्नु । त्यसैले बुबाको अन्तिम संस्कार गर्न पाएकोमा मलाई सन्तोष मिलेको छ ।’

दाहसंस्कारपछि जातीय अगुवा समेत रहेका सौतेनी ज्वाइँ इनरजितले फेरि पनि ५ लाख रुपियाँ मागेर दुःख दिन थालेको पीडित फुलोदेवीले बताउनु भयो ।

फूलोदेवीले अब अहिले आएर काजकिरिया भोजभातका लागि ५ लाख रुपियाँ माग्न थालेको बताउनु भयो ।

जातीय अगुवा इनरजितले पनि ५ लाख रुपियाँ मागेको स्वीकार गर्दै छोरा नभएपछि अरूले काजकिरिया गर्दा ‘हैरानी खर्च’ दिनैपर्ने बताउनु भएको छ ।

मृतक आफ्नो ससुरा पनि भएको र घरमा महिला मात्र रहेकाले काजकिरियामा सहजीकरण गरिदिन आफूले ५ लाख रुपियाँ मागेको इनरजितले बताउनु भयो ।

‘छोरीले दागबती दिइन्, कुरा सक्यो ।’–इनरजितले भन्नु भयो–‘काजकिरियाका लागि मैले अगुवाइ गर्ने हो भने ५ लाख रुपियाँ त पहिल्यै दिनुपर्छ । त्यसपछि हिसाबकिताब गरेर लेनदेन गर्ने यहाँको चलन नै हो तर जातभात काट्ने आरोप गलत हो ।’

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पङ्गेनीले पीडित मृतक परिवारसँग कुनै पनि बहानामा रुपियाँ माग्नु र मानसिक पीडा दिनु दण्डनीय अपराध भएको बताउनु भयो ।

यदि यस्तो अवस्था आए घटनालाई कानुनी दायरामा ल्याउनेतर्फ आफूले कारबाही अघि बढाउने एसपी पङ्गेनीको भनाइ छ ।

इलाका प्रहरीका कार्यालय बर्दिबासका डिएसपी रवि रावलले घटनाबारे बुझेर कारबाही प्रक्रिया अगाडि बढाउने बताउनु भएको छ ।

अन्य

भिडियो