भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको पीडित पक्षको आरोप छ ।
प्रमिलाका पति आरोपित शङ्कर सदाले पीडित दुवै जनाको शरीरमा डिजल छर्कोर आगो लगाएपछि ‘फरार’ भएको जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रहरीले जनाएको छ ।
आमा रेशमादेवी सदासँग घरमा सुतिरिहेको बेला शरीरमा डिजल छर्केर आगो लगाएर आरोपितले हत्या प्रयास गरेको पीडित प्रमिलाले आरोप लगाउनु भएको छ ।
आगो लगाएर हत्या प्रयास गर्नुको कारण पीडित प्रमिला देवी सदालाई थाहा नभएको बताउनु हुन्छ ।
आगोबाट प्रमिला देवीको दुवै हात, गोडा, छातिदेखि पैतलासम्म पोलेर घाइते हुनुभएको छ भने रेशमादेवी सदाको पिठ्यु, पाखुरा र बाँया गोडामा जलेर घाइते हुनुभएको छ ।
घाइते दुवै जनालाई साउन २१ गते राति नै प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि भर्ना गरिएकोमा थप उपचारका लागि साउन २२ गते बिहान काठमाडौँ किर्तिपुरस्थित बर्निङ अस्पताल रेफर गरिएको अस्पतालले जनाएको छ ।
घटनामा संलग्न आरोपित शङ्कर सादा ‘फरार’ रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।