INSEC Online

📅 २०८३ जेष्ठ २१

करारका कर्मचारीको अवधि नथपिँदा १५ स्वास्थ्य इकाई बन्द

साउन १ गतेबाट करारका कर्मचारीको करार अवधि नविकरण नभएपछि गण्डकी गाउँपालिकाका १५ सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका छन् ।

करारका कर्मचारीको भरमा रहेका गाउँपालिकाभरका सबै स्वास्थ्य इकाई बन्द भएको गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख वेली श्रेष्ठले बताउनु भयो ।

इकाइ बन्द भएपछि प्राथमिक उपचार, सामान्य स्वास्थ्य जाँच परिवार नियोजन लगायतका सेवा प्रवाह प्रभावित बनेको छ ।

‘हेल्थ पोष्टबाट पाउने डेलिभरीबाहेक प्राय सबै सेवा इकाईबाट क्षमताको आधारमा प्रवाह हुँदै आएको थियो ।’–उहाँले भन्नुभयो–‘अहिले ति सेवा प्रवाह गर्न सकेका छैनौँ ।’

असार ३० गतेको कार्यपालिका बैठकले गाउँपालिकाभरका ७० जना करारका कर्मचारीको अवधि नथप्ने निर्णय गरेको थियो ।

जनशक्ति अभावले इकाईले सेवा प्रवाह गर्न नसकेको हो । गण्डकी गाउँपालिकामा अवधि थप नभएका करारका ७० कर्मचारीमा ३८ जना स्वास्थ्यका कर्मचारी छन् ।

अब बस्ने कार्यपालिका बैठकबाट स्वास्थ्य संस्थामा कर्मचारी भर्नाबारे निर्णय लिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले बताउनु भयो ।

गाउँपालिकालाई कर्मचारी भर्नाको प्रक्रिया पुरा गर्न कम्तिमा साउन महिनाभर लाग्ने पनि उहाँको भनाइ छ । ‘यो महिनाभरमा कर्मचारीबारे एउटा टुङ्गोमा पुग्छौँ ।’–अधिकारीले भन्नु भयो ।

भालडाँडा, केलडाँडा, वुट्टार, कुवापानी, भलायोडाँडा, दलभञ्ज्याङ, ठुलादर्वुङ, सानो दर्वुङ, रामपुर, वालकी, आग्रीडाँडा, चैनपुर, छत्तिवनगैरा, वेनिगाउँ र सिउरेनटार स्वाथ्य इकाई बन्द भएका हुन् ।

अन्य

भिडियो