अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको लागि रोम विधान अनुमोदन गर्न माग गर्दै पर्वतका मानवअधिकार सम्बद्ध संघ सस्थाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा १७ जुलाईका दिन साउन १ गते नेपाललाई पनि रोम विधानको पक्ष राष्ट्र बनाउन माग गर्दै पर्वतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा मार्फत ज्ञापनपत्र बुझाइएको हो ।
इन्सेक प्रतिनिधि सन्तोष थापा, नेपाल पत्रकार महासङ्घ पर्वत, गैह्र सरकारी संस्था महासंघ, नेपाल मानवअधिकार संगठन, नेपाल अपांग उत्थान समाज लगायतले हस्ताक्षर गरेको ज्ञापनपत्रमा रोम विधानमा अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्ध अपराध, आमनरसंहार र मानवता विरूद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई जबाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्नको लागि पनि नेपाल रोम विधानको पक्षराष्ट्र हुनुपर्ने उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले मानव अधिकारको संरक्षण र प्रवद्र्धन हुने विधानहरूको अनुमोदन हुनुपर्ने जिकिर गर्दै तत्सम्बन्धमा राखिएका मागहरु ताकुल अड्डामा तत्काल जानकारी गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।
साथै सापकोटाले जिल्लाको मानव अधिकारको अवस्थाबारे पनि संक्षिप्त रूपमा जानकारी गराउनुभएको थियो ।
