इलाम सदरमुकाममा नास्ता पसल गर्दै आएका भारतीय नागरिक ३१ वर्षीय राजु चौधरीले वैशाख १५ गते राति आठ वर्षीया विरुषा चौधरीको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
चौधरीले तीन वर्षीया छोरी मीरा चौधरीलाई पनि घाँटी थिचेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका एसपी शुसीलकुमार यादवले जानकारी दिए ।
२७ वर्षीया पत्नी बिमला लिम्बू (चौधरी) सँग झगडा भएपछि वैशाख १५ गते साँझ राजु इलाम बजारकै फ्रेन्डस् होटलमा दुवै छोरीलाई लिएर बास बस्न गएका थिए । राति साढे १२ बजेतिर उनले दुवै छोरीको घाँटी थिचेर हत्या गर्ने प्रयास गरेकामा सानी छोरी चाहीँ बेहोस अवस्थामा फेला परेको एसपी यादवले जानकारी दिए । विरुषाको हत्या गरेर सानी छोरी मीरालाई पनि बेहोस बनाएपछि चौधरीले आत्महत्याको प्रयाससमेत गरेको प्रहरीले जनाएको छ ।
तौलियाको पासो लगाउँदा पासो चुँडिएपछि चौधरी पनि घाइते अवस्थामै फेला परेको र उनको जिल्ला अस्पतालमा उपचार गरिएको छ । हाल उनलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको एसपी यादवको भनाइ छ । घाइते मीराको झापाको विर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ ।