महाराजगञ्ज नगरपालिकाको वैशाख ३० गते स्थगित भएको निर्वाचन जेठ ३ गते बिहान ७ बजेदेखि सुरू भएको छ ।
उक्त नगरपालिकामा २३ मतदान स्थलमा ४३ केन्द्रबाट मतदान प्रक्रिया जारी रहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताउनु भयो ।
उक्त नगरपालिकामा नेपाली कांग्रेसबाट उप प्रमुख पदकी उम्मेदवार शुभावती कुर्मीको वैशाख २६ गते मृत्यु भए पछि निर्वाचन स्थगित भएको थियो ।
मृतककी बुहारी २८ वर्षीया रिताकुमारी कुर्मीलाई उम्मेदवार पदकालागि वैशाख २८ गते मनोनयन दर्ता गरिएको थियो ।
नगरपालिकामा ३२ हजार ३ सय २१ मतदाता रहेका छन् जसमा महिला १३ हजार ९ सय १४ जना र पुरुष १८ हजार ४ सय ८ जना रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पन्थीले बताउनु भयो ।