INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडित महिला नागरिकता पाउनबाट वञ्चित

दुहुँ गाउँपालिका–२ की २४ वर्षीया राजमति लुहारका पति जुहारी लुहारले नौ वर्ष अगाडी दोस्रो विवाह गरेर भारत भएपछि राजमति लुहार नागरिकता पाउनबाट वञ्चित हुँदै आएकी छिन् ।

नागरिकता पाउन नसक्दा राज्यले प्रदान गर्ने विभिन्न सेवासुविधाबाट वञ्चित हुनु परेको राजमतिले गुनासो गर्नु भयो ।

१० वर्ष अगाडी जुहारी लुहारसँग राजमतिको विवाह भएको हो । विवाहपश्चात राजमतिबाट एक छोरीको जन्म भएपछि उहाँका पतिले दोस्रो विवाह गरेर भारत गए । विवाह गर्दाको समयमा राजमतिको नागरिकता बनाउने उमेर समेत पुगेको थिएन्  । उमेर नपुगेका कारण उहाँको विवाह दर्ता पनि भएन् । नागरिकता बनाउने कुनै आधार नभएपछि राज्यले प्रदान गर्ने सेवा सुविधा पाउनबाट राजमति वञ्चित हुनु भएको हो ।

पतिका विरुद्ध बहुविवाह कसुरमा जिल्ला अदातलमा मुद्दा दर्ता गरेपनि पति नभएसम्म सुनवाइ नहुने भएपछि नौ वर्ष बितिसक्दा पनि आफूले न्याय नपाएको राजमतिले दुखेसो पोख्नु भयो ।
16 days campaignNepali
‘नागरिकताको लागि जिल्ला प्रशासन कार्यालयमा जाँदा विवाह गरेको प्रमाण–पत्र ल्याउनु भन्छन्, राजमतिले भन्नु भयो, ‘आफूसँग विवाह दर्ता गरेको प्रमाण–पत्र छैन् । नौ वर्षकी छोरीको लालनपालन गर्न सदरमुकाम खलंगामा मासिक १ हजार रुपियाँ कोठा भाडा तिरेर बस्दै आएकी छु । दिनभरी भारी बोकेर गुजारा चलाउँछु । कोभिडको समयमा काम पनि पाइएन । राहत पनि पाइएन । राहत माग्न जाँदा नागरिकता खोइ भन्ने गरेका छन् । आफुसँग केही भएन् । ।’

अहिले पनि भारत प्रवेश गर्दा नागरिकता माग्छन्, उहाँले थप्नु भयो, नागरिकता नभएकै कारण काम गर्न पनि भारत जान पाएको छैन् । काम गर्न नपाएपछि विहान बेलुकीको छाक टार्न समस्या रहेको उहाँको भनाइ छ । दैनिक २ / ३ सय रुपियाँ मजदुरी गरेर कमाएको पैसाले छाक टार्दै आएकोमा अहिले भारत प्रवेश नदिएपछि समस्यामा परेको उहाँले बताउनु भयो ।

उहाँको नौ वर्षीया छोरी निसा लुहार मोती महिला संघ तिंकरमा कक्षा २ मा पढ्छन् । उहाँलाई विद्यालयले गरिब परिवारको भनेर निःशुल्क पढाउँदै आएको छ ।

‘छोरीलाई त विद्यालयले निशुल्क पढाइ दिएको छ, मेरो नागरिकताको लागि पहल गरिदिनु पर्‍यो । उहाँले इन्सेकलाई आग्रह गर्नु भयो, ‘नागरिकता भएपछि म आफै काम गरेर छोरी पाल्न सक्छु ।’

दुहुँ गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द डडालले बुवा र आमाको आधारमा पीडित महिलाको नागरिकताको लागि सिफारिस दिइसकेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘मैले वडाबाट दिनु पर्ने सिफारिस दिएको छु । नागरिकता बन्यो कि बनेन् मैले जानकारी पाएको छैन् ।’

प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले विवाह दर्ता नभएकै कारण अहिलेसम्म कसैलाई पनि नागरिकता पाउनबाट वञ्चित नगरेको बताउनु भयो ।

वाडा कार्यालयले नागरिकताको सिफारिस गरी पठाएको अवस्थामा पीडित महिलालाई नागरिकता उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी जोशीले इन्सेक प्रतिनिधिसँग प्रतिवद्धता जाहेर गर्नु भयो ।

इन्सेक प्रतिनिधि नरेन्द्रसिंह कार्कीले पीडित महिलाको नागरिकता बनाउनका लागि सम्बन्धीत निकायहरुसँग समन्वय गरी सहयोग गरिरहेको बताउनु भयो ।

अन्य

भिडियो