१७ वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी राजगढ गाउँपालिका-८ का लिलाप्रसाद चौलागाईंको चैत १ गते इन्सेक प्रतिनिधिसहित सरकारी तथा गैरसरकारी टोलीले उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरेको छ ।
सञ्चारमाध्यममा १७ वर्षदेखि साङ्लोमा बाँधिएको घटना तीन दिन अघि सार्वजनिक भए लगत्तै स्थानीय प्रशासनसमेतको सहयोगमा पीडितको उद्धार गरिएको हो ।
उद्धार गरिएका चौलागाईंलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी टिचिङ अस्पतालमा भर्ना गरिएको छ । सञ्चारमाध्यमबाट घटना थाहा पाएलगत्तै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आवश्यक सम्पूर्ण खर्च अस्पतालले नै व्योहोर्ने बताए ।
मानसिक रोगी चौलागाईंका उद्धारका लागि अनुरोध गरेलगत्तै सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारी र इन्सेक प्रतिनिधि अर्जुन बस्नेत तथा सञ्चारकर्मी पीडितको घर पुगेका थिए ।
अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सन्दिप बर्मासहितको चिकित्सक टोलीले उनको उपचार गर्नेछ । आर्थिक अभावका कारण छोराको उपचार गर्न नसकिएको भन्दै आमा जानुकाले सहयोग जुटाइदिन आग्रह गर्दै आएकी थिइन् ।