नेकपा एमालेको मेची महाकाली अभियानलाई लक्षित गरी मधेसी मोर्चाले फागुन २९ गते आह्वान गरेको रुपन्देही बन्दको अवज्ञा गरेको आरोपमा रमवापुर चोकमा लु.१५प.७५५८ नम्बरको स्कुटरमा पेट्रोल छर्केर जलाएको प्रहरीले आरोप लगाएको छ ।
आगजनीपछि स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ । यसैगरी सोही दिन विवाहका लागि कपिलवस्तुतर्फजन्ती लिएर जाँदै गरेका सवारीधनी सिद्धार्थ नपा-७ का २० वर्षीय सरोज पुनलाई मोर्चाका कार्यकर्ताहरूले कुटपिट गरी घाइते बनाएको पीडितले आरोप लगाएका छन् । कुटपिटबाट घाइते भएका पुनको शरीरभरी निलडाम बसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
प्रहरीले स्कुटीमा आगजनी र कुटपिटमा संलग्न रहेको आरोपमा फागुन २९ गते नै चारजनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गोनाहा गाविस-९ का वसिउद्धिन खान, कम्हरिया गाविस-६ का राजकुमार यादव, करौता गाविस-३ का जमालुद्धिन मुसलमान र कम्हरिया गाविस-६ का नजामुद्धिन मुसलमानलाई कम्हरिया गाविसको रमवापुर चोकबाट फागुन २९ गते दिउँसो गिरफ्तार गरेको प्रहरीले छ । कुटपिट घटनाका पीडितको भिम अस्पताल भैरहवामा उपचार गरिएको डिएसपी पाण्डेले बताए ।