इन्सेक लगायत सङ्घ संस्थाको समन्वयमा जिल्ला प्रहरी कार्यालयले डोल्पा जिल्ला घर भई हाल नेपालगञ्ज उप–महानगरपालिका – ४ मा डेरा लिएर बसेका ४२ वर्षीय चन्द्रबहादुर डाँगीको घरमा घरेलु काममा १२ वर्षीया एकुमाया रोकायलाई कात्तिक ३० गते उद्दार गरेको छ ।
बालिकालाई पढाइ दिने भनेर घरको काम काजमा लगाउने र कुटपिटसमेत गर्ने गरेको भन्दै स्थानियले कात्तिक २३ गते सिविन नेपालगञ्जको हटलाइनमा जानकारी दिनु भएको थियो ।
जानकारी पाए लगत्तै इन्सेकले कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालय र अन्य सङ्घ संस्थाहरूसँग छलफल गरेर उद्दार गर्ने निर्णय गरेको थियो ।
डाँगीले बालिकालाई पढाइ दिने र घरको काममा सघाउनको लागि बालिकाको बुवाको अनुमति लिएर ०७६ साल बैशाखमा डोल्पा जिल्ला बाट नेपालगञ्ज ल्याएको इन्सेक प्रतिनिधिसँगको प्रत्यक्ष भेटमा बताउनु भयो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी सई दिलसरा राणाले बालिकालाई उद्दार पछि कात्तिक ३० गते आफन्तको जिम्मा लगाइएको बताउनु भयो ।