पञ्चेश्वर गाउँपालिका–२ का हरी चन्दको घर कार्तिक १ गते आएको पहिरोले पुरियो । घरसँगै अन्नपात र लुगाफाँटो पनि पहिरोले बगायो । घर पुरिएपछि नजिकैको छिमेकीको घरमा बसेको एक महिना भयो । तर, उहाँको पुनर्स्थापनाका बारेमा अहिलेसम्म कसैले ध्यान दिएको छैन् ।
पञ्चेश्वर गाउँपालिका–२ कै धनी चन्द र केशब चन्दको परिवार पनि पहिरोले विस्तापित भएर छिमेकीको घरमा सबेका छन् । उहाँहरुपनि पुनर्स्थापनाको पर्खाइमा छन् । अहिलेसम्म उहाँहरुले राहात समेत पाउन सकेका छैनन् । ‘विस्तापित भएर छिमेकीको घरमा बस्नुपरेको छ । अहिलेसम्म कुनै पनि निकायले राहात रमेत दिएको छैन् ।’ पहिरो पीडित हरी चन्दले भने ।
पहिरोले विस्तापित भएर छिमेकीको घरमा बसेको महिना वित्दा समेत पुनर्स्थापनाका लागि कुनै पनि निकायले ध्यान नदिएको सुर्नया गाउँपालिका–१ का बिरबहादुर चन्दले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘अब सरकारले पुनर्स्थापनाका लागि कुनै प्याकेज ल्याउला र त्यसलाई कार्यान्वयन गर्ला भन्ने विश्वास छैन् । त्यसैले अब रिन काडेरै भएपनि केहि बासको व्यवस्था गर्नु पर्ला ।’
जिल्लाका केही स्थानीय तहहरुबाट बाढीपहिरोले गरेको क्षतिको पूर्ण विवरण आउन नसक्दा राहतमा ढिलाइ भएको हो । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण जिल्लामा चार जनाले ज्यान गुमाएका थिए । भन,े अधिकांशको खेत पहिरोले बगाएको थियो । केही घर पहिरोको उच्च जोखिममा परेपछि विस्तापित हुनुपरेको थियो । किशानले लगाएको अन्न खेतमै कुहिएको थियो ।
जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहको मात्रै क्षतिको विवरण सङ्कलन भएको छ । अन्य चार स्थानीय तहको भने अझैसम्म पनि विवरण सङ्कलन हुन सकेको छैन् ।
राहात वितरण हुन नसक्दा यहाँका बाढीपहिरो पीडितहरु समस्यामा परेका छन् । मृतकका परिवारले किरिया खर्च बाहेक अन्य राहात रकम पाउन सकेका छैनन् ।
राहात वितरण नहुँदा आफूहरु समस्यामा परेको शिवनाथ गाउँपालिका–५ का पहिरोपीडित रामी पार्कीले दुखेसो पोख्नु भयो छ ।
उहाँले भन्नु भयो– ‘पहिरोले घर पुरिदा दुई बुहारी र एक नाती गुमाए । किरिया खर्च बाहेक अन्य राहात केहि पाउन सकेको छैन् । अर्काको घरमा बस्नु पर्ने बाध्यता छ । खान लाउन समेत समस्या छ ।’
‘पहिरोले घर बगाउदा विस्तापित हुनुपर्यो अझै हामीहरुको पुनर्स्थापनाकालागि कुनै योजना बनाइएको छैन् ।’ पञ्चेश्वर गाउँपालिका–२ का पहिरो पीडित जगी साकीले गुनासो गर्नु भयो ।
पहिरोले खेतमा काटेर राखेको धान नष्ट हुँदा समस्यामा परेका सुर्नया गाउँपालिका–४ का जयन्त भट्टको गुनासो पनि उस्तै छ । ५० नाली खेतमा काटेर राखेको सबै धानबाली नष्ट भयो । अब के खाने भन्ने चिन्ता उहाँमा छ ।
डिलाशैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र पुर्चौडी नगरपालिकाबाट क्षतिको यकिन विवरण सङ्कलन हुन नसकेको हो । वर्षा भएको समयमा जनधनको क्षति भएपनि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपत् व्यवस्थापनको टोली घटनास्थलमा पुग्न सकेको थिएन ।
६ स्थानीय तहको विवरण सङ्कलन गरेको र बाँकी चार स्थानीय तहको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालय, बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताउनु भयो । उहाँले भन्नु भयो– ‘जिल्ला प्रशासन कार्यालयले प्रहरीमार्फत ६ ओटा स्थानीय तहको क्षतिको विवरण सङ्कलन गरेको छ । अन्य ठाउँको सङ्कलन गरिरहेका छौँ ।’
क्षतिको विवरण सङ्कलन भएका स्थानीय तहमा ३० घरमा पूर्ण र ४५ घरमा आंशिक क्षति पुगेको छ । यस्तै तीन ओटा झोलुङ्गे पुल, दुई विद्यालय, २४ सिँचाइ आयोजना र १५ सडकमा क्षति पुगेको छ ।
यस्तै सिगास गाउँपालिका, सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाबाट सङ्कलन गरेको तथ्याङ्क अनुसार १ हजार ३ सय २० मेट्रिक टन अन्नबाली र तरकारी बालीमा क्षति भएको छ ।
वर्षाका कारण ६ वटा स्थानीय तहमा मात्रै १ हजार १ सय ४० हेक्टर क्षेत्रफलमा लगाएको २ करोड २ लाख ६० हजार बराबरको अन्नबाली र तरकारीमा क्षति भएकोमा सिगास गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भारतीले बताउनु भयो ।
तथ्याङ्क सङ्कलन काम सम्पन्न गरी कृषकलाई उचित राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पठाइने जनाइएको छ । धान उत्पादनको पकेट क्षेत्रमै अन्नबालीमा ठूलो क्षति भएपछि भोकमरी हुने भन्दै किसान चिन्तित भएका छन् ।
क्षति भएको एक महिना बित्नैलाग्दा समेत केही पालिकाहरुबाट विवरण नआउदा राहातको काम प्रभावित बनेको छ । पालिकामा धेरै क्षति भएको र विवरण संकलनको काम जारी रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । उनले भने ‘मानविय क्षतिको विवरण तत्काल संलगन भएपनि अन्नपात र अन्य किशानहरुले लगाएको बालीनाली क्षतिको विवरण संकलनकै क्रममा छौँ । यसको क्षतिबाट भएको समस्या समाधानका बारेमा प्रदेश र संघ सरकारसंग आग्रह गछौँ ।’
गाउँपालिकाका अधिकांश ठाउँमा पहिरोको समस्या रहेको र सामान्य गराको कान्ला भत्केकाहरुले समेत राहातको दाबी गर्दा वास्तविक पीडितहरु समस्यामा परेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘सामान्य समस्या भएका व्यक्तिले समेत राहातको दाबी गरेका छन् । हामीले वास्तविक समस्यामा परेका व्यक्ति तथा परिवारको पहिचान गरिसकेका छौँ । गाउँपालिकामा लेखापाल नहुँदा उहाँहरुले राहात पाउन सकेका छैनन् ।’
पहिरो पीडित भएर घर भत्केका व्यक्तिहरुलाई सरकारले ५ लाख रुपियाँ दिने घोषणा गरेपनि कार्यान्वयनका लागि अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको गाउँपालिकाका अध्यक्ष चन्दको भनाइ छ ।