INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानी अभाव भएपछि स्थानीयहरु दुषित पानी पिउन बाध्य

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको भएपनि नवदुर्गा गाउँपालिका–२ बडमका स्थानीयबासी दुषित पानी पिउन बाध्य भएका छन् ।

०५१ साल र त्यसपछि बनेका खानेपानीका योजनाहरु जीर्ण बन्दा बडममा खानेपानीको चरम अभाव भएको हो ।बडम गाउँबासीले अहिले गाउँ भन्दा तल रहेको नौलाबाट पानीको जोहो गर्दै आइरहेका छन्  ।

गाउँ भन्दा १५ देखि ३० मिनेटको पैदल दुरीमा रहेका नौलाबाट उकोलो बाटोमा पिठ्युमा पानीका ग्यालेन बोकेर पानीको जोहो गर्नु पर्ने बाध्यता रहेको वडमका स्थानीय जग्वा भुलले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘हिउदका महिनामा नजिकै रहेको कुँवाबाट पानीको जोहो गरेपनि गर्मीयाममा पानीका मुहानहरु सुक्ने भएकाले एक घण्टाको पैदल दुरीमा रहेको रडुवा खोलाको पानी पिउनु पर्ने अवस्था छ ।’

photo20211116dadeldhura (1)

खानेपानीका लागि पटकपटक स्थानीय सरकालाई गुहार मागेको भएपनि अहिलेसम्म सुनुवाइ हुन नसकेकको स्थानीयहरुले गुनासो गरेका छन । खानेपानीको जोहो गर्नका लागि रातिकै समयमा लाइनमा बस्नु पर्ने अवस्था रहेको स्थानीय पार्वतीदेवी अवस्थीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘रातिको १२ बजेसम्म र बिहान ३ बजेदेखि नै पानी भर्नका लागि कुँवामा बस्नु पर्छ । पानीकै जोहो गर्न सुत्ने समय हुदैन् ।’

२०५१ सालमा पहिलोपटक खानेपानी योजना लागु भई गाउँमा खानेपानी पुगेपनि दुई वर्षभन्दा बढी धारामा पानी नआएको र २०६९ सालयता गाउँमा आठ ओटा धारा निर्माण गरिएको भएपनि धारामा पानी नआएको स्थानीय सुन्तली भूलले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘योजना निर्माण गरिए पनि धारामा पानी आउँदैन् । खानेपानीका लागि गाउँभरीका बच्चादेखि वृद्धासम्म एकाबिहानै लाईन लाग्नु पर्ने अवस्था आएको छ ।’

photo20211116dadeldhura (2)

बडम क्षेत्रमा खानेपानीको समस्या भएपछि संघीय सरकारको १ करोड ९० लाख रुपियाँ लागतमा बृहत् खानेपानी योजना लागु गरिएको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले बताउनु भयो ।

गएको असार मसान्तमा काम सक्नेगरी ठेक्का सम्झौता भएको भएपनि कोभिड माहामारी र वर्षातका कारण योजना समयमै सम्पन्न हुन नसकेकाले अब चाँडै नै योजना सम्पन्न हुने गरी काम भइरहेको अध्यक्ष बिष्टले बताउनु भयो ।

photo20211116dadeldhura (3)

अन्य

भिडियो