INSEC Online

📅 २०८३ जेष्ठ २१

विशेषज्ञ डाक्टरको अभावमा सेवाग्राही समस्यामा

जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको अभाव भएपछि उपचार गर्न आएका बिरामीहरु सेवा नलिकन नै फर्किन बाध्य भएका छन् ।

महिला, बालरोग, हड्डी, दाँत, नसा, पेटसम्बन्धी विशेषज्ञ डाक्टरको अभावमा बिरामीहरु उपचार बिना नै घर फर्किनु पर्ने वा अन्य जिल्लाका अस्पतालहरुमा जानु पर्ने बाध्यता रहेको छ ।

पेटसम्बन्धी समस्या लिएर जिल्ला अस्पतालमा जाँदा स्वास्थ्यकर्मीहरुले अस्पताल भर्ना गरेका भएपनि विशेषज्ञ डाक्टर नभएका कारण स्वास्थ्यमा सुधार हुन नसकेपछि थप उपचारका लागि धनगढी जानु परेको चौरपाटी गाउँपालिका– लुंग्राका सेतबहादुर भुलले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘रोगको पहिचान नै नगरी दुखाइको औषधी मात्रै अस्पतालमा दिएका रहेछन् । रोगले च्याप्दै गएपछि मेरो अनुरोधमै धनगढी रिफर गरियो । धनगढीमा आएर चेकजाँच गर्दा एपेन्डाइटिस भएको रहेछ । धन्न बाँचे ।’

जिल्ला अस्पतालमा १० दिनसम्म छोरीलाई भर्ना गरेर उपचार गराउँदा समेत विशेषज्ञ डाक्टर नभएका कारण सञ्चो नभएपछि ऋण निकालेर धनगढी उपचारमा जानु परेको मंगलसेन नगरपालिका–५ की सरस्वती ढुङ्गानाले दुखेसो पोख्नु भयो ।

जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर र उपकरणको अभावमा समयमै रोगको पहिचान हुन नसक्दा बिरामीहरुले आर्थिक र भौतिक रुपमा थप सास्ती खोप्नु परेको छ ।

दक्ष स्वास्थ्यकर्मीको अभावमा एक वर्षअघि सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालाई दिइएका दुई ओटा भेन्टीलेटर र आइसियु समेत सञ्चालनमा आउन सकेका छै्रनन् ।

पोष्ट मार्टम गर्न समेत जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा आफूहरुले थप समस्या झेल्नु परेको पञ्चदेवल विनायक नगरपालिका–१ का वेदप्रकाश तिमिल्सैनाले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘दुई साता अघि मृत फेला परेका भाइको पोष्टमार्टम समेत समयमै हुन सकेन् । पोष्टमार्टमका लागि डाक्टर पठाउन भन्दै जिल्ला प्रशासन कार्यालयले डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्नु भयो । डाक्टर नभएका कारण स्थानीयहरुलाई थप समस्या उत्पन्न भएको छ ।’

२०३४ मा स्थापना भएको जिल्ला अस्पताल, अछाममा हालसम्म कुनै विशेषज्ञ डाक्टर नआएको र विशेषज्ञ डाक्टर ल्याउने बारेमा तत्काल कुनै पहल नभएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनालले बताउनु भयो छ ।

विशेषज्ञ डाक्टरसँगै, भवन, उपकरणका लागि संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पहल भइरहेको अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित हुनु भएका प्रतिनिधि सभा सदस्य यज्ञबहादुर बोगटीले बताउनु भयो ।

नेपालको संविधानको मौलिक हक अन्र्तगत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकमा प्रत्येक नागरिकलाई आधारभूत निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने, आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान हक हुने उल्लेख गरिएको छ ।

अन्य

भिडियो