जिल्ला अस्पताल दुनैमा औषधिको अभाव भएपछि सर्वसाधारणको उपचारमा समस्या भएको छ ।
आर्थिक वर्ष ०७८/०७९ मा स्वास्थ्य सेवा कार्यालयले नियमित रूपमा खरिद गर्नु पर्ने औषधि खरिद नगरेकाले औषधिको अभाव भएको हो ।
सरकारले उपलब्ध गराउने ७२ प्रकारका औषधि भएपनि डोल्पामा ३५ प्रकारका औषधि पठाउने गरेको डाक्टर अखण्ड उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारले निःशुल्क रूपमा उपलब्ध गराउने टेट्रा साइक्लिन, जेभी पाउडर, एमसि पाउडर, स्प्रीट, टिन्चर, भिटामिन वि कम्लेक्स, ल्वाङको तेल, आइक्रोफिन, क्यालामाइन लोसन, म्याग्नेसोयम सल्फेट, अक्सिटोसीन, वेन्जाइल वेन्जोइन, पारासिटामोल, जिन्क र ओरामाइन भ्यालेट लगायतका ३५ प्रकारका औषधिहरूसमेत अभाव भएकोले बिरामीको उपचारमा समस्या हुने गरेको छ ।
कतिपय बिरामीले निजी मेडिकलबाट किनेर ल्याउनु भन्दा आफूहरूसँग झगडा गर्ने गरेको डाक्टर उपाध्यायको भनाइ छ ।
अस्पतालमा औषधि नहुँदा स्वास्थ्य परीक्षण गराएर औषधि किन्न निजी मेडिकलमा जानु पर्ने बाध्यता रहेको त्रिपुराकोट–१ का सन्तोष सार्कीले बताउनुभयो ।
अस्पतालमा मात्र होइन बजारमा रहेका मेडिकलमा समेत औषधि नपाइने गरेको बिरामीहरूको गुनासो छ ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख अमरबहादुर शाहीले गत आर्थिक वर्षको औषधि सकिएको र नयाँ आर्थिक वर्षको औषधि खरिद नगरिएकोले अभाव भएको बताउनुभयो ।
प्रदेश सरकारले बजेट पठाएको र औषधि खरिदको लागि कर्मचारीलाई सुर्खेत पठाइएको उहाँले जानकारी दिनुभयो ।