INSEC Online

📅 २०८३ जेष्ठ २२

लुम्बिनी प्रदेशका अधिकांश कारागार जिर्ण अवस्थामा, क्षमता भन्दा बढी कैदी / बन्दी हुँदा व्यवस्थापनमा समस्या

लुम्बिनी प्रदेशका अधिकांश कारागारका भौतिक संरचना जिर्ण अवस्थामा रहेका छन् । कारागारमा क्षमता भन्दा बढी कैदी / बन्दी भएका कारण व्यवस्थापनमा समेत समस्या रहेको छ ।प्रदेशका १२ जिल्लामध्ये रुकुम पुर्वमा बाहेक १२ वटा कारागार रहेका छन् ।

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिए पनि प्रदेशका सबै कारागारमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा कैदी / बन्दीहरूलाई समान्य उपचारका लागिसमेत अस्पताल पठाउनु पर्ने भएकाले व्यवस्थापनमा थप समस्या भएको छ ।

पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार कारागारमा २ सय ७१  जना कैदी/ बन्दी रहेका छन् । २ सय ३० जना पुरूष र ४२ जना महिला रहेका जेलर भक्तिसरा थापाले बताउनु भयो । कारागारमाआमाहरुसँगै ३ बालकपनिआश्रित छन् । एक जनाबालक १५ महिनाको रहेका छन् । त्यस्तै अन्यदुई बालक ३ वर्षका रहेको उहाँले बताउनुभयो आश्रित  तीन जना बालक रहेका छन् ।

बाँके जिल्ला प्रतिनिधि स्मृति देवाकोटाका अनुसार कारागारमा क्षमता भन्दा बढी कैदी / बन्दी हुँदा भौतिक व्यवस्थापनमा समस्या भएको छ । ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय ५ जना कैदी बन्दी रहेका छन् ।करिब १७ कठ्ठा पाँच धुर क्षेत्रफलमा २००० सालमा बनाइएको कारागारमा हाल १ जना महिला र ८ सय ४ जना पुरुष गरी ८ सय ५ जना कैदी बन्दी रहेको जेलर राम कुमार सोनकरले बताउनु भयो । उहाँले कारागारको भौतिक अवस्था जिर्ण रहेकोले व्यवस्थापनमा  समस्या रहेको बताउनु भयो । क्षेत्रीय कारागारको निमार्ण कार्यमा ढिलाई भएकोले कारागारको पर्खाल लगाउने काम  र कैदी बन्दीलाई सुत्ने ठाउँ बढाउन लागि व्यवस्थापन गर्न गाह्रो रहेको बताउँदै कारागारको पर्खालको अवस्थासमेत कमजोर रहेकोले सुरक्षामा समेत चुनौति रहेका बताउनु भयो ।कारगारमा एक जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा कार्यरत रहेका छन् ।  हालसम्म कुनैपनि कैदी÷बन्दीमा कोभिड सङ्क्रमण नभएको  कारागार प्रशासनले जनाएको छ ।

अर्घाखाँची जिल्ला प्रतिनिधि कूलबहादुर नेपालीका अनुसार जिल्ला कारागारमा नियमित खानेपानीको छुट्टै व्यवस्थापन नहुँदा समस्या भएको छ । लामो समयदेखि खानेपानीको समस्या समाधान गर्न लागि परे पनि समाधान हुन सकेको छैन । जिल्ला कारागारमा भौतिक पूर्वाधार  पनि जिर्ण बन्दै गएको पछि कैदी बन्दीहरूलाई बस्न समस्या भएको छ । हाल कारागारमा  चार  जना महिला र ५४ पुरूष गरी ५८ जना कैदी वन्दी रहेका छन् । ६० वर्ष भन्दा माथिका एक जना महिला र चार पुरूष रहेका छन् । एक जना स्वास्थ्यकर्मीको दरवन्दी भए पनि कर्मचारी समायोजन पछि स्वास्थ्यकर्मी नहुँदा नियमित चेकजाँचका लागि जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता रहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना कोभिडबाट ६५ जना सङ्क्रमित भए । हाल ३८ जनालाई कोभिड विरूद्धको दुबै चरणको  खोप लगाइएको छ भने १० जनालाई पहिलो  चरणको लगाइएको छ ।

रोल्पा जिल्ला प्रतिनिधि तिलक घर्ती मगरका अनुसार कारागारमा   क्षमता भन्दा बढी कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ  ।  ५० जना क्षमता भएको कारगारमा १ सय १० जना कैदी बन्दी रहेका छन् । जसमध्ये १ सय ३ जना पुरूष सात जना महिला रहेका छन् । कारगारमा भौतिक सङ्रचना जिर्ण हुँदा पानी चुहिने समस्या समेत रहेको छ । स्वास्थ्यकर्मी नहुँदा भनेको समयमा औषधि उपचार नपाएको कैदी देव घर्ती मगरले बताउनु भयो । कारागारमा शारीरिक ब्यामको अभाव तथा सीप मूलक तालिमको व्यवस्थापन नभएको घर्तीले गुनासो गर्नुभयो । पुर्पक्षका लागि थुनामा राखिएकाहरूको सुनुवाइमा ढिलाई हुँदा निकै लामो समय कारागार बस्नुपर्ने बाध्यता रहेको समेत घर्तीको भनाई रहेको छ । कैदी बन्दी धेरै हुनु रोल्पाको मात्र समस्या नभएर देश भरिनै समस्या रहेको जेलर यामलाल वलीले बताउनु भयो ।

नवलपरासी पश्चिम जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार श्रेणी नछुट्टिएको जिल्ला  कारागारमा १ सय ५० जना पुरूष र २५ जना महिला गरी १ सय ७५ जनाको क्षमता रहेकोमा  हाल जिल्ला कारागारमा ४ सय ५० जना पुरूष र ६२ जना महिला रहेका छन् । कारागारमा एक जना आश्रित बालक रहेका छन् । जेलर जगतबहादुर बस्नेतका अनुसार कारागार भित्र खानेपानीको समस्या रहेको छ । स्थानीय कलहरूमा आरसेनिकको मात्रा बढी रहेको छ । कारागारमा छैठौँ तहको स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि विभागले विगत एक वर्षदेखि स्वास्थ्यकर्मी पठाएको छैन । सबै कैदी बन्दीले कोभिड १९ विरूद्धको खोप लगाएको जेलर बस्नेतले बताउनु भयो । हालसम्म कारागार भित्र तीन जना पुरुष कैदीमा कोभिड सङ्क्रमण देखिएको भएपनि उपचार पछि निको भएका छन् ।

गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार कारागारमा सात जना महिला र ७५ जान पुरूष गरी कैदीबन्दी गरेर ८२ कैदी बन्दी रहेका छन् । क्षमतान्दा तेब्वर बढी कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । भवन जिर्ण भएकाले पानी चुहिएर बस्न समस्या हुने गरेको छ । कोठाहरु प्रयाप्त नहुँदा सुत्न समस्या रहेको छ ।  कार्यालयका दुई कोठामासमेत पानी उम्रिएर बस्न सक्ने अवस्था नभएकाले कार्यालय व्यावस्थापनमै मुस्किल परेको निमित्त कारागार प्रमुख रेश्मीराज पन्थीले बताउनु भयो । एक वर्षदेखि कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या परेको छ । कारगारका तीन जना कर्मचारी र ६ जना कैदी बन्दी गरी नौ जनालाई कोभिड सङ्क्रमण भएको छ । कारागारका सबै कैदी बन्दीले कोभिड विरूद्धको खोप लगाएका छन् ।

 

अन्य

भिडियो