मानव अधिकारकर्मीहरूले घटनाको विषयमा प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा असोज २२ गते नेपालगञ्जमा अयोजित लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बेल्दै जिल्ला प्रहरी कार्यालयका डिएपी मधुसुधन न्यौपानेले उक्त कुरा बताउनु भएको हो ।
डिएपी न्यौपानेले मानव अधिकारकर्मीहरूले घटनाको विषयमा विस्तृत कुरा समानरुपमा बुझ्न आवश्यक रहेको बताउनु भयो । उहाँले नन्नकुन्नी धोविको हत्याका विषय र निर्मला कुर्मीको घटनाका विषयमा अनुसन्धान प्रकृया अगाडि बढाएको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले नागरिकहरूलाई दिने सुरक्षाका विषयमा कुनै कसर नछाड्ने बताउनु भयो । उहाँले नागरिकहरूले सुरक्षाकर्मीहरू प्रति कम विश्वास गर्ने भएकोले घटनाको अनुसन्धान गर्न असहज हुने गरेको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झङकरबहादुर रावलले मानव अधिकारकर्मीहरूले सम्पादन र मूल्याङकन गर्ने विषयमा गम्भीर भएर काम गर्न आग्रह गर्नु भयो ।
नेपाल बार एशोसिएशनका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले मानव अधिकारकर्मीहरूले पीडितको उजुरी दर्ता गराउन पहल गर्ने र घटनाको अनुसन्धान गर्न पहल गर्ने भएकोले अदालतमा विचाराधिन रहेको मुद्दामा प्रतिवाद गर्न नहुने बताउनु भयो ।
अधिवक्ता लोकबहादुर शाहले नागरिक, सुरक्षाकर्मी , मानव अधिकारकर्मीहरूले एक अर्का माथि गरिने विश्वासको कमी भएकोले काममामा गराइमा अप्ठ्यारो परिस्थिती आउने गरेको बताउनु भयो । अधिवक्ता शाहले घटनाका विषयमा सुरक्षाकर्मी, मानव अधिकारकर्मीहरूले मात्र नभएर आम नागरिकहरूलाई पनि प्रष्ट पार्न आवश्यक रहेको बताउनु भयो ।
मानव अधिकारकर्मी प्रभात कुमार ठकुरीले नागरिकहरूको खाद्य अधिकारलाई मध्यनजर गर्दै बजार अनुगमनलाई व्यापक रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो ।
अधिवक्ता विकास आचार्यले अहिलेको समयमा बालविवाह व्यापक रुपमा फैलिएकोले यसलाई रोक्न मानव अधिकारकर्मीहरू भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
अधिकारकर्मी कमला पन्तले मानव अधिकारकर्मीहरूले सिमा क्षेत्रमा नागरिकहरू ठगीने कार्य धेरै भएकोले सिमा क्षेत्रमा गम्भिर भएर निगरानि बढाउन आवश्यक रहेको बताउनु भयो ।
इन्सेक नेपालगञ्जका प्रमुख भोला महतले इन्सेकले २०२१ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा इन्सेकले अभिलेख गरेका मानव अधिकार उल्लङ्न र ज्यादतीका घटनाहरू समेटिएको तथ्याङ् प्रस्तुत गर्नु भएको थियो ।