जिल्ला अस्पताल लमजुङमा बिरामीहरूको चापले गर्दा दिर्घारोगीहरूको नियमित स्वास्थ्य परीक्षणमा असर परेको छ ।
हाल जिल्लामा सिजनल फ्लु वा मौसमी रूघाखोकीका बिरामीहरूको सङ्ख्या बढेको छ ।
अहिले देखिएको सिजनल फ्लुले गर्दा दैनिक ३ सय देखि ४ सय जना बिरामीहरू अस्पतालमा उपचारको लागि आइरहेको हुनाले दिर्घरोगीहरूको लागि स्वास्थ्य परीक्षणमा समय दिन नसकिएको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।
दैनिक १ सय देखि १ सय ५० दिर्घरोगीहरू सुगर, प्रेसर, मुटु र किडनीमा समस्या जस्ता रोगको उपचारका लागि अस्पताल आउने गरेको भएपनि सिजनल फ्लुले गर्दा हाल ५० जनापनि नआएको उहाँले बताउनुभयो ।

सिमित दक्ष जनशक्तिको कारणले पनि बिरामीको चाप बढेपछि पुराना बिरामीहरूलाई समय दिन नसकिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
अस्पातलमा सरकारी दरबन्दीबाट एक जना र करारमा तीन जना डाक्टरहरू कार्यरत रहेको उहाँले बताउनुभयो ।
बेशीसहर नगरपालिका–६ की ७० वर्षीया चन्द्रकुमारी राना विगत १५ वर्षदेखि सुगर र प्रेसरले ग्रसित हुनुहुन्छ ।
हप्तामा एक पटक स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ तर एक महिनादेखि अस्पतालमा बिरामीको चाप बढेकोले स्वास्थ्य परीक्षण गर्न नपाएको उहाँले बताउनुभएको छ ।
‘मलाई हरेक हप्ता अस्पताल जानुपर्ने हो, तर गए पालो पाइन्न, फेरी रूघाखोकीका बिरामीहरू धेरै छन ।’ –रानाले भन्नुभयो– ‘अस्पताल गए आफूपनि बिरामी भइन्छ की भनी छोराहरूले जान दिदैनन ।’
बेसीशहर नगरपालिका–३ निवासी ६५ वर्षीया सुकमायाँ रानालाई पनि विगत १० वर्षदेखि सुगर र प्रेसरको औषधि प्रयोग गर्दै आउनुभएको छ ।
उहाँले पनि एक महिनादेखि स्वास्थ्य परीक्षणको लागि समय नपाएको बताउनुभएको छ ।

जिल्ला अस्पतालमा सिजनल फ्लुका कारण बालबालिका र जेष्ठ नागरिकहरू बढी प्रभावित भएको अस्पतालका प्रमुख श्रेष्ठले बताउनुभयो ।
जसमध्ये निमोनिया, रूघाखोकी, ज्वँरोका धेरै बिरामीहरू रहेका प्रमुख श्रेष्ठले इन्सेकलाई बताउनुभयो ।
अस्पतालले फ्लु नियन्त्रण र रोकथामको लागि स्थानीय पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनमा सूचना प्रकाशन तथा प्रसारण गरी रोगबाट बच्ने उपाय र नागरिकले अपनाउनुपर्ने सावधानीको बारेमा सचेत गराउने प्रयास गरेको छ ।
त्यसैगरी जिल्लाको हरेक स्थानीय तहले स्वास्थ्य स्वयंसेविकालाई सिजनल फ्लु र कोभिडको फरक लक्षणको विषयमा सचेतना अभियान पनि सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताउनुभयो ।
सेवाग्राहीलाई कोभिडको शङ्काले गर्दा पनि दिर्घरोगीहरू अस्पताल आउन नखोजेको प्रमुख दवाडीको भनाइ छ ।
केही महिनादेखि अस्पतालमा विषम परिस्थिति देखा परे पनि केही दिनमै सबै व्यवस्थापन गरी सेवाग्राहीलाई गुणस्तर स्वास्थ्य सेवा प्रदानमा अस्पताल सदैव तयार रहेको प्रमुख श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।