शैक्षिक शत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यालयहरू सञ्चालनमा नआउँदा विद्यार्थीहरूको पठन पाठन प्रभावित भएको छ ।
गत वर्षहरूमा फागुन महिनाबाट शैक्षिक सत्र सुरू हुने गरेकोमा यो वर्ष कोभिडका कारण असारबाट शैक्षिक सत्र सुरू गरिएको थियो ।
सातओटा गाउँपालिकाका १ सय ५३ ओटा विद्यालय मध्ये १ सय ११ ओटा भदौ २७ गतेबाट खुलेका छन् भने ४२ ओटा विद्यालय अझै बन्द रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तिलक भट्टराईले बताउनुभयो ।
भट्टराईका अनुसार सर्केगाड गाउँपालिकाका २५, नाम्खा गाउँपालिकाका १०, सिमकोट गाउँपालिकाका २०, खार्पुनाथ गाउँपालिकाका १२, चङ्खेली गाउँपालिकाका १६, अदानचुली गाउँपालिकाका १५ र ताँजाकोट गाउँपालिकाका १३ ओटा विद्यालय सञ्चालन गरिएको छ ।
बन्द रहेका विद्यालयमा पाठ्य पुस्तकको अभाव र शिक्षकहरू जिल्ला बाहिर भएकाले सञ्चालन गर्न नसकिएको भट्टराईको भनाइ छ । उहाँका अनुसार विद्यालय नखुल्दा करिब दुई हजार विद्यार्थीको पठन पाठन प्रभावित भएको छ।
बन्द रहेका विद्यालयहरूलाई छिट्टै सञ्चालनमा ल्याउनको लागि भदौ १५ गते नै सबै विद्यालयलाई पत्राचार गरेको उहाँले जानकारी दिनुभयो ।
विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भएको सिमकोट गाउँपालिका–३ रलिङ्ग मावि बरगाउँका कक्षा नौ मा अध्यनरत छिरिङ लामाले गुनासो गर्नुभयो । उहाँले भन्नु भयो,– ‘दुई वर्षदेखि न विद्यालयमा पढाई भयो न किताब नै पाइयो ।’
अनलाइन कक्षामा अध्ययन गर्नको लागि आफूसँग मोवाइल तथा नेटको पहुँच नभएको कर्णाली माविमा कक्षा १० मा अध्ययनरत रूकौँरा सिंहले दु:खेसो गर्नुभयो ।
‘फागुनमा कक्षा सञ्चालन भएको भए कोर्स सकिन्थ्यो होला’ कान्ति माविमा कक्षा आठमा अध्ययनरत देविन्द्र सिंहको भनाइ छ ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको भदौ १४ गते बसेको बैठकले जिल्लाभरी रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई कोभिडको अवस्था हेरी शैक्षिक गतिविधि सञ्चालन गर्न परिपत्र गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो ।