INSEC Online

📅 २०८३ जेष्ठ २१

एमाले अभियान विथोल्न भन्दै मसाल जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले नेकपा (एमाले) को मेची महाकाली राष्ट्रिय अभियान सप्तरी प्रवेश गर्ने अघिल्लो दिन फागुन २२ गते साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

Photo20170305Saptari

स्थानीय हरिनन्देश्वर महादेव मन्दिरबाट निस्किएको मसाल जुलुस नगर परिक्रमा पश्चात शहीद दर्शन चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहरूले कुनै पनि हालतमा सप्तरीमा एमालेको कार्यक्रम हुन नदिने बताए ।

एमालेको अभियान सप्तरीमा हुन नदिने उद्घोष गर्दै मोर्चाका जिल्ला संयोजक दिनेश यादवले फागुन २३ गते सप्तरीमा हुने कार्यक्रमको प्रतिकार गर्ने बताए ।

एमालेको अभियान विथोल्ने रणनीति अनुरुप मोर्चाले फागुन २३ गते चक्काजाम र लाठी जुलुस प्रदर्शन गर्ने जनाएको छ । एमालेको अभियानको प्रतिकार गर्न अपिल गर्दै मोर्चाले गाउँ-गाउँमा माइकिङ र पर्चा वितरण गरिरहेको छ ।

राजविराजस्थित रङ्गशालामा गर्ने सभालाई एमालेले राजविराजदेखि चार किलोमिटरको दुरीमा रहेको गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्रमा सारेको छ ।

एमालेको कार्यक्रम बिथोल्न खोज्दा हुन सक्ने सम्भावित झडपलाई लिएर प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूबिच सुरक्षा रणनीतिबारे निरन्तर छलफल भइरहेको जनाइएको छ । सुरक्षाको तयारी स्वरुप जिल्लाको सम्वेदनशील स्थान तथा चोक-चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी दिवेश लोहनीले एमालेको अभियान र मोर्चाको प्रतिकारका विषयमा आफूहरू गम्भीर रहेको बताए । उनले यस क्रममा कुनै पनि अप्रिय घटना नहोस भन्नका लागि प्रहरी प्रशासनले आवश्यक सम्पूर्ण तयारी गरेको जानकारी दिए ।

‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान तथा संविधान कार्यान्वयनका लागि दुई हप्ते मेची महाकाली राष्ट्रिय अभियान’को स्वागतमा सप्तरीका हजारौँ जनसमुदाय उत्रने दावी गर्दै एमाले स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले आफूहरू झडप गर्ने पक्षमा नरहेको तर राष्ट्रिय अभियानको दिन हुने अवरोधको प्रतिकार जनस्तरबाट अवज्ञा हुने चेतावनी दिए ।

अन्य

भिडियो