INSEC Online

📅 २०८३ जेष्ठ २१

आमालाई कुटपिट गरेको आरोपमा गिरफ्तार

७१ वर्षीया आमा चन्द्रकला सार्कीलाई कुटपिट गरेको आरोपमा दुल्लू नगरपालिका–८ रनुखानाका ४१ वर्षीय गोपाल सार्कीलाई प्रहरीले साउन ४ गते गिरफ्तार गरेको छ ।

आमाले पाएको सामाजिक सुरक्षा भत्ता आफूलाई नदिएको झोकमा साउन ३ गते साँझ गालामा मुक्का हानेको पीडितको उजूरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

आमाले पाएको भत्ता १२ हजार मध्येको आधा मागेको तर आफूले दिन इन्कार गर्दा छोराले कुटपिट गरेको पीडित चन्द्रकलाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडित महिलाको  मुख र ढाडमा चोट लागेको र उहाँको आवश्यक उपचार गरिएको दुल्लू अस्पतालका डाक्टर रञ्जना रोकायले बताउनुभयो ।

चन्द्रकला र उहाँका पति ७३ वर्षीय चन्द्रबहादुर सार्कीका तीन छोराहरूले हेरचाह नगरेपछि ११ वर्षदेखि दम्पति अलग्गै बस्दै आउनु भएको छ । आरोपित गोपाल माइलो छोरा हुन् ।

चन्द्रकलाका दम्पतिलाई नगरपालिकाले प्रति व्यक्ति अन्तिम चौमासिकको १२-१२ हजार रुपियाँ बैङ्कमार्फत असार २७ गते दिएको थियो ।

अन्य

भिडियो