INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा अध्यक्ष हत्या घटनाका आरोपित गिरफ्तार

ईश्वरपुर नपा–३ भक्तिपुरका ५५ वर्षीय वडा अध्यक्ष सुर्यकुमार श्रेष्ठलाई असार ११ गते राति १० बजे हत्या गरेको आरोपमा प्रहरीले ईश्वरपुर नपा–३ का ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबी चालक बरहथवा नपा–१ का ३८ वर्षीय रविन भनिने हर्कबहादुर तामाङलाई असार १२ गते गिरफ्तार गरेको छ ।

ईश्वरपु नपार–३ भक्तिपुरस्थित मुखलाल बाँधमा गरिएको पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेसिबीको बकेटले हिर्काएर वडा अध्यक्ष श्रेष्ठको हत्या गरिएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटाले आरोप लगाउनु भयो ।

खनिएको पोखरीको अनुगमन गर्न जाँदा वडा अध्यक्ष श्रेष्ठसँग भएको विवादको क्रममा डोजर चालक सहितका आरोपितले वडा अध्यक्षको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका एसपी सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।

प्रहरीका अनुसार राति अबेरसम्म वडा अध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार दाहाल र जेसिबी चालक तामाङले नजिकैको होटलमा सँगै खाजा खाएका थिए ।

खाजा खाएपछि उनीहरूबिच भएको विवादका क्रममा मुखलाल बाँध नजिक पुगेपछि जेसिबी चालक तामाङले जेसिबी चलाएर वडा अध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले ठक्कर दिई हत्या गरेको राठौरले बताउनु भयो ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार दाहाललाई घटना लगत्तै गिरफ्तार गरेको र घटनापछि फरार रहेका जेसिबीका चालक तामाङलाई असार १२ गते बिहान ६ बजे लालबन्दीबाट गिरफ्तार गरेको एसपी राठौरले जानकारी दिनु भयो ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।

अन्य

भिडियो