जिल्ला अस्पतालमा पर्याप्त स्रोत साधनको अभावमा सुत्केरी गराउन नसकेपछि महिलाको ज्यान जोखिममा भएको छ । पेटभित्रै बच्चाको मृत्यु भएपछि आमाको अवस्था जोखिममा रहेको डाक्टरहरूको भनाई छ ।
‘असार २ गतेसम्म बच्चाको अवस्था राम्रो थियो । असार ३ गते चेक गर्दा बच्चाको डेथ भएछ’ जिल्ला अस्पतालका डाक्टर अमित विष्टले इन्सेक प्रतिनिधिसँग भन्नुभयो ।
डाक्टर विष्टका अनुसार प्रसुती व्यथा लागेकी सिमकोट गाउँपालिका–६ की २७ वर्षीया जगतमाया रोकायालाई असार १ गतेदखि इमरजेन्सी वार्डमा भर्ना गरिएको थियो ।
प्रसुति मिति असार २७ गते तोकिएको भएतापनि व्यथा लागेकोले अस्पताल ल्याइएकी रोकायको अवस्था जटिल भएको भन्दै डाक्टरहरूले असार २ गते नेपालगञ्ज लैजान सिफारिस गरेका थिए ।
पर्याप्त रगत र उपकरण नभएका कारण रिस्क लिएर अस्पतालमा अप्रेसन गर्न नसकिएपछि जिल्ला बाहिर रिफर गरिएको डाक्टर विष्टले बताउनुभयो ।
अस्पतालले नेपालगञ्जको भेरि अस्पतालमा लैजान भनेपनि हालसम्म उद्धार हुन नसकेको पीडितका पति जितेन्द्र रावतको गुनासो छ ।
अस्पतालको प्रसूति गृहमा उपचार गर्दा रगत जम्न सक्ने, गर्भवतीको पाठेघरमा पानीको मात्रा नहुँदा जिल्लामा अप्रेसन गर्न नसकिएपछि बाहिर रिफर गरिएको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिनु भयो ।
अस्पतालको सिफारिस र राष्ट्रपति महिला उत्थान कार्यक्रमको समन्वयमा उद्धारका लागि सेनाको हेलिकप्टरको व्यवस्था भए पनि लगातारको वर्षाका कारण हेलिकप्टर उड्न सक्ने अवस्था नरहेकाले पीडित महिलाको उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनु भयो ।