INSEC Online

📅 २०८३ जेष्ठ २१

जनशक्ति अभाव हुँदा भेण्टिलेटर प्रयोगविहीन

भेण्टिलेटर जोडेको महिनौ बित्दापनि सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा अलपत्र परेको छ ।

पाँचमहिना अघि नै भेण्टिलेटर जडान गरिएतापनि दक्ष जनशक्तिको अभावले सञ्चालन गर्न नसकिएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।

कोभिडको विषम परिस्थतिमा जिल्लामा नै सेवा सुविधा पाउनबाट सेवाग्राही वञ्चित भएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष एवम् नागरिक समाजका अगुवा किसान सङ्गीत नेपालीले बताउनुभयो ।

देशमा हाल विभिन्न स्वास्थ्य संस्थामा बिरामीहरूको उपचारको लागि भेण्टिलेटर अभाव भएको छ । विगत केही दिनबाट कोभिडका सक्रिय सङ्क्रमितहरू घटेपनि आइसीयू र भेण्टिलेटरमा राखी उपचार लिनेहरूको सङख्या यथावत नै छ ।

photo20210607Lamjung

जिल्लामा नै अत्याधुनिक सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्ने अभिप्रायले पाँच ओटा आइसीयू र तीन ओटा भेण्टिलेटर अस्पतालमा जडान गरिएको भएपनि सञ्चालन गर्न दक्ष जनशक्ति अभाव हुँदा सञ्चालन गर्न नसकिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

आइसीयू र भेण्टिलेटर सञ्चालनको लागि एनेस्थेसियोलजिष्ठ र फिजिसियनको आवश्यकता हुन्छ र सोको लागि माग गरिएको भएपनि हालसम्म उनीहरूकाे उपलब्धता हुन नसकेको उहाँले इन्सेक प्रतिनिधिलाई जनाकारी दिनुभएको छ ।

सङघीय, प्रदेश र स्थानीय सरकारलाई दक्ष जनशक्तिको अभाव बारे पटकपटक जानकारी गराइएको भएता पनि अहिलेसम्म व्यवस्थापनको लागि पहल नभएको श्रेष्ठको गुनासो रहेको छ ।

जिल्लामा आइसीयू र भेण्टिलेटरमा राखि उपचार गर्नुपर्ने खालका आकस्मिक सेवाका लागि आएका सेवाग्राहीलाई काठमाडौं, पोखरा र चितवनमा रिफर गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले आइसीयू र भेण्टिलेटर सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति छिटोभन्दा छिटो उपलब्ध गराउन आफ्नो ठाउँबाट पहल र समन्वय भइरहेको बताउनुभएको छ ।

अन्य

भिडियो