१८ र २० वर्षीया दुईजना युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीनजना युवालाई जेठ २३ गते गिरफ्तार गरेको छ ।
युवतीहरूलाई स्थानीय एक होटेलमा मदिरा खुवाई यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नपा–९ का ३५ वर्षीय दोमनबहादुर घर्ती, सोहि निवासी २९ वर्षीय विनोद पुन र २४ वर्षीय भुपेन्द्र बुढालाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बताउनु भयो ।
डिएसपी घर्तीका अनुसार आरोपितहरूले युवतीहरूलाई मदिरा खुवाई यौन दुर्व्यवहार गरेको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक सार्वजनिक गरेका थिए ।
जेठ २१ गते साँझ यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपनि पीडित पक्षले हालसम्म उजुरी नदिएको डिएसपी घर्तीले जानकारी दिनु भयो ।
दवाबमा मदिरा सेवन गराई भिडियो खिचेर सार्वजनिक गरी परिवार तथा समुदायलाई अनावश्यक दुःख दिनु सरासर गलत भएकोले घटनामा संलग्नलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको भनाइ छ ।